‘साथी….सुखमा पनि, दुखमा पनि….’को कार्यालय उद्घाटन

झापा । समाजमा आइपर्ने दुःखका सन्दर्भ अनि सुखका अवसरहरुमा पनि साथ–सहयोग गर्ने एवम् सार्वजनिक सामाजिक गतिविधिमा क्रियाशील रहने उद्देश्यका साथ झापा भद्रपुरका युवाहरुले स्थापना गरेको ‘साथी… सुखमा पनि, दुःखमा पनि’ नामक संस्थाको कार्यालय उद्घाटन गरिएको छ ।

भद्रपुर–४, झापाचोकमा आज एक समारोहका बीच संस्थाको कार्यालय उद्घाटन गरिएको हो ।

संस्थाका अध्यक्ष विश्वराज थापाको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका वडा नं ४ वडाध्यक्ष हंशधर राजवंशी, विशिष्ट अतिथि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई, भद्रपुर ४ निवासी समाजसेवी बमबहादुर कोइराला, जीवन वाँस्तोला, निःशुल्क कोठा प्रदान गर्ने रूपसिंह राजवंशीलगायतले संयुक्तरूपमा रिबन काटेर कार्यालय उद्घाटन गरेका थिए ।

संस्थाका सचिव गोपेश वर्मनले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि वडाध्यक्ष राजवंशीले साथीले सञ्चालन गर्दै आएका सामाजिक क्रियाकलापहरुलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै आफ्नो वडाको तर्फबाट गर्न सकिने सबै किसिमका सहयोग रहने प्रतिबद्धता जनाए ।

यस्तै, विशिष्ट अतिथि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष, युवा व्यवसायी, राजनीतिकर्मी एवम् सामाजिक व्यक्तित्व राईले पनि समाज रुपान्तरणका लागि संस्थाले गर्ने कार्यमा आफ्नो तर्फबाट सक्दो साथ–सहयोग रहने बताए ।

सामाजिक तथा राजनीतिक व्यक्तित्व बमबहादुर कोइराला, जीवन वाँस्तोला, फर्कियो जोवन फ’टबल क्लवका उपाध्यक्ष रोहित काफ्लेले पनि संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष थापाले संस्था एउटा एसएलसी ब्याजी साथीहरुमा सीमित रहेकोले यसलाई सबैको साझा संस्था बनाउने गरी विधान परिमार्जन गरिएको जानकारी दिँदै संस्थामा आबद्ध हुन सबैलाई आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *