झापामा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा बिहान ७ देखि बेलुकी ६ बजेसम्म

झापा । जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचयपत्र तथा राहदानी (पासपोर्ट) सेवा बिहान ७ देखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्ने भएको छ ।

लामो समयदेखि अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक तथा अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले सेवा समय बढाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राजीनामा दिएपछि यसै साता झापामा सरुवा भई आउनुभएका प्रजिअ पोखरेलले राष्ट्रिय परिचयपत्र तथा राहदानी लिन आउने सेवाग्राहीको अत्यधिक चापलाई ध्यानमा राख्दै आवेदन (ब्याकलग) शून्यमा झार्ने ‘अभियान’ नै सञ्चालन गरिएको बताए ।
कार्यालयले अभियानअन्तर्गत नियमित समयभन्दा बढी समय सेवा प्रवाह गर्नेछ । यो अभियान २०८३ असोज १५ गतेसम्म सञ्चालन हुनेछ । सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाहलाई निरन्तरता दिइनेछ । अनलाइन आवेदन दिएर लामो समयदेखि पालो पर्खिरहेका सेवाग्राहीको बाँकी आवेदन सकेसम्म छिटो फछ्र्योट गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको प्रजिअ पोखरेलले बताए ।

कार्यालयले अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सक्कल कागजातसहित तोकिएको समयमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *