भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको छ ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आज अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रियामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित र उपलब्धिमूलक बनाउने उद्देश्यअनुरूप सञ्चालन भइरहेको यो कार्यक्रमलाई जनस्तरसम्म कसरी पुर्याउन सकिन्छ र यसको दीगोपनाको लागि कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिकाबाट रोजगारीका लागि मात्र ५१५७ भन्दा बढी विदेश गएको तथ्याङ्क रहँदा यसलाई थप व्यवस्थित बनाउँदै यसका असरहरूको न्यूनिकरणका लागि अघि बढ्ने उपायहरू बारे छलफल गरियो ।
सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक फणिन्द्र दाहालले कार्यक्रमको विषयवस्तु तथा नगरक्षेत्रमा रहेका यसका चुनौतीहरूबारे प्रस्तुति गरेका थिए भने रोजगार संयोजक टिकाराम पाण्डेले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित न्यूनिकरण गर्न सकिने उपायहरूबारे प्रस्तुति दिएका थिए । भद्रपुर नगरपालिकाको वार्षिक बजेटभन्दा औसत विप्रेषणलाई मात्रै आधार मान्दा पनि दुईगुणा रकम विदेशबाट भद्रपुर भित्रिरहँदा समेत यो क्षेत्रप्रति नगरवासीले खासै चासो नराखेको पाण्डेको भनाइ थियो । उनले कार्यपालिका सदस्यहरूले यो कार्यक्रमलाई टोलटोलसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।
भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले नेपालको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने क्षेत्र भएकोले यसको व्यवस्थापनका लागि विशेष ढंगले अघि बढ्नुपर्ने बताए । यो क्षेत्रको उचित व्यवस्थापन र सही सूचनाका लागि आगामी दिनमा विशेष योजनाका साथ अघि बढ्ने उनको भनाइ छ ।
नगर उपप्रमुख राधा कार्कीले समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि वैदेशिक रोजगारीको क्षेत्रलाई मिहिन ढंगले हेर्नुपर्ने र यसलाई नीतिगत व्यवस्थामार्फत नै व्यवस्थित बनाउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिइन् । नगरप्रमुख गणेश पोखरेलले यो क्षेत्र भद्रपुरको सन्दर्भमा महत्वपूर्ण रहेको, वैदेशिक रोजगारीको क्रममा सामान्य सूचना नपाएकै कारणले ठूलो जोखिम मोल्नुपर्ने अवस्था रहेका कारणले जनप्रतिनिधिले हरेक नागरिकसम्म यसको गाम्भीर्यता र महत्वबारे बुझाउन लागिपर्नुपर्ने बताए । त्यसका लागि आफूहरु गाउँघरमा पुग्दै गर्दा भद्रपुर नगरपालिकामा निरन्तर यो सेवा प्रवाह भइरहेको जानकारी मात्रै गराए पुग्ने धारणा राख्दै यसको उचित व्यवस्थापनसहित नीतिगत रूपमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा थप अध्ययन गरी लागु गर्ने उल्लेख गरे ।