भद्रपुर । झापाको भद्रपुर–१० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा आयोजित समारोहका बीच भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले साधामरणसभाको उद्घाटन गरिन् ।
समितिका अध्यक्ष अधिकारीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०७८÷०७९ मा सहयोग तथा अनुदानसमेत गरी कुल आम्दानी २ करोड ५८ लाख ९८ हजार ३९४ रुपैयाँ १० पैसा र खर्च १ करोड ५९ लाख ५ हजार ३३९ रुपैयाँ भएको जानकारी दिए । उनले समिति ९९ लाख ९३ हजार ५५ रुपैयाँ वचत गर्न सफल भएको बताए ।
भद्रपुरका ७, ८, ९, १० र विर्तामोडको ८ नं वडामा बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै १३ हजार २२७ मिटर नयाँ पाइप लाइन विस्तार गरिएको छ भने सडक विस्तारको क्रममा पाइपलाइन पिच सडकको बिचमा परेका कारण ६ हजार ७८३ मिटर पाइप प्रतिस्थापन गरिएको अध्यक्ष अधिकारीले बताए ।
अध्यक्ष अधिकारीले आगामी कार्यक्रमको लागि भौतिक निर्माण, पाइपलाइन प्रतिस्थापन, खानेपानी उत्पादन युनिट सुधार, दैनिक खानेपानी आपूर्ति व्यवस्थापन, खानेपानी गुणस्तर नियन्त्रण, सरसफाइ कार्यक्रम, समितिको आन्तरिक व्यवस्थापन सुधार जस्ता नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
समितिका उपाध्यक्ष बाबुराम पराजुलीले स्वागत गरेको समारोहको सञ्चालन सचिव बाबुराम कार्कीले गरेका थिए । बन्द सत्रमा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष खेमराज भटरार्इद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको व्यवस्गापक विशाल अधिकारीले जानकारी दिए ।