भद्रपुर । झापाको भद्रपुर–८, मेची बहुमुखी क्याम्पसस्थित मेची क्रिकेट रंगशालामा भद्रपुर क्रिकेट क्लवद्वारा आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको आय–व्यय सार्वजनिक गरिएको छ ।
क्लबले बुधबार पत्रकार सम्मेलन आयोजना गरी आय–व्यय सार्वजनिक गरेको हो । गत माघ २१ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट ७४ लाख ८० हजार ६४२ रुपैयाँ आम्दानी भएको थियो भने खर्च ८० लाख २१ हजार ६७२ रुपैयाँ खर्च भएको छ । यसबाट ५ लाख ४१ हजार रुपैयाँ आम्दानीभन्दा खर्च बढी भएको क्लवका कोषाध्यक्ष क्षितिज खवासले जानकारी दिए ।
प्रतियोगितामा विज्ञापनबाट ६ लाख ३९ हजार रुपैयाँ, दाता सहयोगबाट २१ लाख २१ हजार ६५० रुपैयाँ र प्रायोजनबाट ४७ लाख १९ हजार ९९२ रुपैयाँ आम्दानी भएकोमा खर्चतर्फ सबैभन्दा बढी खाना तथा आवासमा १६ लाख ८४ हजार ९४० रुपैयाँ, मैदान तथा ग्राउन्ड व्यवस्थापनमा १० लाख ३६ हजार २४० रुपैयाँ, पुरस्कार रकम तथा ट्रफीमा ११ लाख ९० हजार ४०० रुपैयाँ र टेलिभिजन प्रसारणमा ७ लाख रुपैयाँ खर्च भएको छ । यस्तै, अम्पायर तथा अन्य शुल्कमा ५ लाख ७२ हजार २०० रुपैयाँ, घरेलु टोली खर्चमा ६ लाख ५६ हजार २५० रुपैयाँ, टोली सहभागिता खर्चमा ५ लाख ९८ हजार ९०० रुपैयाँ, छपाइमा ५ लाख २ हजार ५६ रुपैयाँ, पेभिलियन तथा प्यारापिट निर्माणमा २ लाख ३२ हजार रुपैयाँ, साउन्ड तथा जेनेरेटरमा ९४ हजार ५०० रुपैयाँ, ब्याट तथा बलमा ९१ हजार ९०० रुपैयाँ, बाउन्ड्री वेजमा १ लाख ४२ हजार ६० रुपैयाँ, स्कोरबोर्डमा ५० हजार रुपैयाँ, यातायातमा ४८ हजार ८०० रुपैयाँ खर्च भएको कोषाध्यक्ष खवासले जानकारी दिए । त्यस्तै प्रशासनिकतर्फ ३ लाख ८३ हजार ८९१ रुपैयाँ खर्च भएको छ ।
दाताबाट केही रकम अझै उठ्न बाँकी रहेको कोषाध्यक्ष खवासको भनाइ छ ।
सार्वजनिक गरिएको विवरणले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भए पनि आर्थिक रूपमा घाटा व्यहोर्नुपरेको क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक गौरव सुब्बा (मनोज)–ले जानकारी दिए ।
भ्द्रपुर नगरपालिका, वडा नं ८ का वडाध्यक्षसमेत रहेका सुब्बाले भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालालाई कोशी प्रदेशकै उत्कृष्ट रंगशाला बनाउन क्लब लागिपरेको बताएका छन् ।
्कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्च गरी रङ्गशालालाई स्तरोन्नति गरिएको बताउँदै उनले भने– ‘खेलाडीका लागि सुविधासम्पन्न पेभिलियन निर्माणाधीन अवस्थामा छ, यसका लागि स्थानीय सरकारसँग बजेट माग गरेका छौँ । प्रदेश सरकारले पनि फ्लड लाइट जडानका लागि डेढ करोड बजेट छुट्याएको छ । आगामी दिनमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउने र इनडोर ट्रेनिङका लागि सुविधासम्पन्न पूर्वाधार निर्माण गर्ने योजना छ ।’
क्लबका अध्यक्ष आदित्य पराजुलीले काँसघारीमा परिणत भएको क्रिकेट मैदानलाई पुनः उत्कृष्ट मैदानको रुपमा स्तरोन्नति गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । ‘यो क्रिकेट रंगशाला भद्रपुरको पहिचान हो, यसको संरक्षण र प्रवद्र्धनमा हामी सबै जुट्नुपर्छ’– पराजुलीले भने ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले व्यापार–व्यवसाय चलायमान गराउने एउटा माध्यम खेलकुद क्षेत्र पनि भएकोले मेची क्याम्पस क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि नगरपालिकाले क्लबसँग सहकार्य गर्दै आइरहेको बताए । उनले नगरपालिकाले छिट्टै क्लबसँग सम्झौता गरी क्रिकेट एकाडेमी सञ्चालन गर्न नगरपालिकाले प्रशिक्षकको व्यवस्था मिलाउने पनि जानकारी गराए ।
पत्रकार सम्मेलनको सञ्चालन क्लबका महासचिव वसन्त पोखरेलले गरेका थिए ।
