झापा । नेपालको अलैंची खेती तथा व्यवसाय प्रर्वद्धनका लागि झापाको विर्तामोडमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
नेपाल अलैंची व्यवसायी महासंघको अग्रसरतामा संयुक्त राष्ट्रसंघको दातृ निकाय खाद्य तथा कृषि संगठन (एफएओ)–का प्रतिनिधिसँग अलैंचीको थप खेती विस्तार तथा अन्तर्राष्ट्रि व्यवसाय प्रर्वद्धनका लागि गर्न सकिने विषयवस्तुमा हिजो मङ्लबार विर्तामोडमा अन्तरक्रियात्मक छलफल गरिएको हो ।
अलैंचीको खेती विस्तार र उत्पादन बृद्धिसँगै अलैंचीलाई अन्तराष्ट्रिय बजारसम्म प्रवद्र्धन गर्ने तथा उत्पादन, प्रशोधन, प्याकेजिङका रणनीति तयार गर्ने विषयमा एफएओका प्रतिनिधिसँग किसान र व्यवसायीसमेतको सहभागितामा अन्तरक्रिया गरिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
भूटान र नेपालका लागि एफएओका प्रतिनिधि केन सिमिजुको नेतृत्वको प्रतिनिधिमण्डलसँग छलफल गरिएको बताए । छलफलमा व्यवसायी तथा किसानले पूर्वी तथा पश्चिमी पहाडी जिल्लाको मुख्य नगदेबाली अलैंचीको उत्पादन, गुणस्तर, व्यापार र तेस्रो मुलुक निर्यातमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै त्यसका लागि सहजीकरण गरिदिन एफएओलाई आग्रह गरे ।
एफएओले नेपाल सरकार र किङ्ग्स कलेजसँगको सहकार्यमा ‘एक देश एक उत्पादन (ओसीओपी)’ ढाँचा अन्तरगत नेपालमा ठूलो अलैंची प्रवद्र्धन गर्ने परियोजनामा काम गर्दै आएको एफएओको संचार तथा सूचना विज्ञ सुमन गिरीले जानकारी दिए ।
बजारको सीमितता, मूल्यमा उतारचढाव, क्वारेन्टाइन अभाव र झञ्झटिलो कर प्रणालीका कारण किसान तथा व्यवसायीले अलैंचीबाट अपेक्षाकृत प्रतिफल लिन नसकेको महासंघका अध्यक्ष भट्टराईले बताएका थिए ।
कार्यक्रमका सहभागीले अलैंची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै समस्या व्यवस्थापन गर्न सरकारसमक्ष एफएओमार्फत माग गरेका थिए ।
सरकार तथा एफएओका तर्फबाट अलैंची खेतीमा आधुनिक प्रविधिको प्रयोग, रोग, कीरा र जनावरको संक्रमण नियन्त्रण, बजार व्यवस्थापन, खेती प्रविधिको अनुसन्धान, स्थिर मूल्य, बाली विमा तथा बिनाधितो ऋणलगायतका व्यवस्था गरिनुपर्ने सुझावसहितको पत्र एफएओका प्रतिनिधिलाई महासंघले प्रदान गरेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपालले नेपाली अलैंचीको माग युएईको बजारमा राम्रो रहेको बताएका थिए ।
भर्खरै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले दुबईमा अर्गानिक तथा कृषिजन्य वस्तुको प्रदर्शनीमा सहभागिता जनाएर फर्किएका नेपालले त्यहाँको बजारका बारेमा आफ्नो विचार राखेका थिए ।
नेपाली अर्गानिक उत्पादनलाई युएईको बजारमा थप सशक्त बनाउनका लागि नेपाल सरकार, सम्बन्धित निकाय र सम्पूर्ण समुदायको निरन्तर हातेमालो आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दल, उपाध्यक्ष पार्वता विमली खरेल, कार्यकारी अधिकृत अनिल ढुङ्गाना, सदस्य सञ्जीव घिमिरे, विरोध सुवेदी, चेम्बर अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण विमलीलगायतले सुझावसहितको धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए ।