झापामा उत्पादित इँटा भारत निर्यात

झापा । आन्तरिक बजार धर्मराइरहेको बेला झापामा चिनियाँ प्रविधिमा उत्पादित इँटा भारत निर्यात भएको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नं १५, ज्यामिरगढीमा स्थापित सरिया ग्रीन ब्रिक्स इण्डष्ट्रिजले पहिलोपटक भारततर्फ इँटा निर्यात गर्न सुरु गरेको हो । उद्योगका सञ्चालक कैलाश सरियाका अनुसार मंगलबार नमूनाका रूपमा ३२ हजार थान इँटा काँकरभिट्टा नाका हुँदै भारत पठाइएको छ । भारतीय व्यवसायीले उद्योगको अवलोकनसँगै इँटाको गुणस्तर र मोडल मन पराएर इँटा लगेको सञ्चालक सरियाले बताउनु भयो ।

यो नेपालकै ठूलो र अत्याधुनिक प्रविधियुक्त इँटा उद्योग भएको अर्का सञ्चालक विवेक पुरीले जानकारी दिनुभयो । पूर्ण एअर कम्प्रेसर प्रणालीमा आधारित यस उद्योगले स्वचालित मेसिन प्रयोग गरी उच्च गुणस्तरका इँटा उत्पादन भरखरै सुरु गरेको उहाँले बताउनु भयो ।
योसँगै भारतमा नेपाली इँटाको माग बढ्ने संभावना रहेको जनाउँदै आगामी दिनमा निर्यातको परिमाण थप बढाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

करिब एक अर्ब लगानीमा स्थापित उद्योगमा कैलाश सरिया, विवेक पुरी, सन्तोष आचार्य, रजनिश, करनाली, सुभाषरत्न शाक्यलगायतको लगानी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *