झापा । झापाको विर्तामोडमा सुविधासम्पन्न बिग ब्रदर ब्याडमिन्टन हल सञ्चालनमा आएको छ ।
विर्तामोड ५, महानन्दचोकनजिक स्थानीय व्यवसायी उमेश बोहराले एक कट्ठा क्षेत्रफलमा करिब ५० लाख लगानीमा ब्याडमिन्टन हल सञ्चालनमा ल्याएका हुन् ।
हलको औपचारिक उद्घाटन भने शनिबार बिहान गरिने आज हलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जिल्ला टेवलटेनिस संघ झापाका अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा सो हलमा ब्याडमिन्टनसँगै टेवल टेनिस, डार्ट, सुटिङ, चेसजस्ता इनडोर खेलहरू खेल्न सकिने बताइयो ।
जिल्ला टेवलटेनिस संघ झापाले जिल्लाका विद्यार्थीहरूलाई लक्षित गर्दै सोही हलमा टेवल टेनिस प्रतियोगिताको योजना बनाएको अध्यक्ष अग्रवालले जानकारी दिए ।
खेलकुदले युवा तथा किशोरकिशोरीलाई कुलतमा लाग्नबाट जोगाउने बताउँदै अग्रवालले विद्यार्थीहरूलाई लक्षित गरेर नै हल सञ्चालनमा आएको बताए । सो हलमा ब्याडमिन्टन, टेवलटेनिसलगायतका खेलका लागि प्रशिक्षकको समेत व्यवस्था गरिएको सञ्चालक बोहराले जानकारी दिए ।