भद्रपुरमा पहिलो पटक भद्रपुर नगर युथ समिट हुँदै

भद्रपुर । ‘स्थानीय विकासमा युवा सहभागिता ः नेतृत्व विकास, प्रविधि र उद्यमशीलता’ भन्ने नाराका साथ बिहीबारदेखि झापाको भद्रपुरमा ‘प्रथम नगर युथ समिट ‘२०८०’ हुने भएको छ । प्रथम नगर युथ समिटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नगरपालिकाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा शुक्रबारसम्म सञ्चालन हुने समिटको उद्घाटन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गर्ने नगर युवा परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिए । समिटको उद्देश्य युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने, युवाहरूमा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यावहारिक बनाउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने रहेको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । नगर समिटबाट युवा घोषणापत्र समेत जारी गरिने पनि नगरप्रमुख पोखरेलले बताए ।

समिटमा १६ देखि ४० वर्षसम्मका २२८ जना सहभागी हुनेछन् । प्रत्येक वडाबाट १० जनाका दरले एक सय जना, खुला आवेदनबाट ७५ जना, अन्य पालिका, युवा परिषद्, विद्यार्थी गरी २० जना, स्थानीय संघसंस्थाहबाट १८ र पर्यवेक्षक १५ जना सहभागी हुने बताइएको छ ।

समिटमा विषयविज्ञहरु वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन, पत्रकार टीकाराम यात्री, कवि नवराज पराजुली, दयासागर श्रेष्ठ, महेश दाहाल, सोनीका पौडेल, राहुल केसी, वसन्त अधिकारी, प्रदीप पौडेल, माधव ढुंगेल, मुन्ना कुमारलगायतले युवा नेतृत्व विकास, उद्यमशीलता, जीवनोपयोगी सीप, सकारात्मक सोच, मिडिया तथा डिजिटाइजेसन, दिगो विकास लक्ष्य, सुरक्षित आवास सहर, युवा प्रतिभा प्रस्तुतीकरण तथा सम्मान, लागूपदार्थ दुर्व्यसनी न्यूनीकरण, सुशासन लगायतका विषयमा सहजीकरण गर्ने परिषद्का कार्यकारी उपाध्यक्ष सरोज ढकालले जानकारी दिए। शुक्रबार समापनका दिन नगरका युवा प्रतिभाहरू गायिका रचना रिमाल र विश्व कीर्तिमानी अर्पण शर्मा कट्टेललाई सम्मान गरिने जनाइएको छ ।
सो बृहत समिट सम्पन्न गर्न भद्रपुर नगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको थाहा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *