झापा । झापाको विर्तामोड नगरपालिका–५ र अर्जुनधारा नगरपालिका–११ को सिमानामा रहेको आवास मार्गमा ढल निर्माणका लागि पहल अगाडि बढाउन समिति गठन गरिएको छ ।
विर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोम्देनको नेतृत्वमा बिहीबार सो क्षेत्रको अनुगमन गरी पहल समिति गठन गरिएको हो । अनुगमनपछि अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको छ ।
समितिको सदस्यमा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, गोपाल विमली, सुरेन्द्रबहादुर लिम्बू, वीरबहादुर राई र टेकराज सुब्बा रहेका छन् ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईले बर्खामा डुबानको समस्या रहँदै आएको त्यस क्षेत्रमा ढल निर्माणका लागि दुबै नगरपालिका सकरात्मक भएकोले समिति निर्माण गरेर पहल अघि बढाएको बताइन् । विर्तामोड बसपार्कदेखि माथिल्लो क्षेत्रमा डुबानको समस्या वर्षौंदेखि छ । अनुगमनमा नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईलगायतको सहभागिता थियो ।