झापा । बिर्तामोडमा रहेका वाणिज्य बैंकहरुले आसन्न झापा गोेल्ड कपलाई सबैको साझा सरोकारको विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।
छैटौँ संस्करणको प्रतियोगिताको तयारीको सिलसिलामा झापा गोल्डकपले आइतबार आयोजना गरेको छलफलमा सहभागी बैंकका शाखा प्रबन्धहरुले छैठौं झापा गोल्डकपमा बैंकिङ क्षेत्रको पनि सहभागिता रहने प्रतिबद्धता जनाएका थिए ।
अघिल्ला संस्करणभन्दा यो प्रतियोगितालाई थप रचनात्मक र आकर्षण बनाउन उनीहरुले सुझाव समेत दिए ।
छलफलमा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले सामाजिक उत्तरदायित्व निर्वाह गर्न बैंकका शाखा प्रमुखहरुलाई आग्रह गरेका थिए ।
महासचिव गजेन्द्रबहादुर पौडेलको स्वागत मन्तव्य रहेको छलफलमा सिद्धार्थ बैंकका प्रबन्धक सुवास श्रेष्ठ, नबिल बैंकका गुरुराज रेग्मी, प्राइम कमर्सियल बैंकका सञ्जीव खनाल, गुडविल फाइनान्सका सुमन पौडेल, नेपाल एसबिआइ बैंकका असिम इङनाम र एक्सेल डेभलपमेन्ट बैंकका गजेन्द्र ढकालको उपस्थिति रहेको थियो ।
त्यस्तै, गोल्ड कपका तर्फबाट सदस्य किरण श्रेष्ठ, सदस्य सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको उपस्थिति रहेको थियो ।
यसअघि, झापा गोल्डकपले बिर्तामोड खेलकुद विकास समितिसँग छलफल गरेको थियो ।
छलफलमा प्रतियोगितालाई भव्य र सभ्य बनाउने, रंगशाला स्तरोन्नति गर्ने र खेलाडी प्रवर्धन गर्ने सहमति भएको गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
त्यस्तै, बिर्तामोड नगरपालिका, नगर खेलकुद विकास समिति तथा गोल्ड कप सबैले पहल गरेर डोमालाल राजवंशी रंगशालाको संरक्षणमा लागिपर्ने छलफलले निर्णय गरेको छ ।
छलफलमा गोल्ड कपका तर्फबाट अध्यक्ष बस्नेत, उपाध्यक्ष सुवास भट्टराई, महासचिव गजेन्द्रबहादुर पौडेल, सदस्य किरण थापा, अर्जुन चुडाल, सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको सहभागिता थियो ।
त्यस्तै, नगर खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष विकास गिरी, उपाध्यक्ष सन्तोष गुरुङ, सचिव विसन लिम्बू, सदस्यहरु विशाल अग्रवाल, गणेश कटवाल, बागधन राईको सहभागिता थियो ।