क्षयरोग निवारण संस्थाद्वारा प्रादेशिक अस्पताल भद्रपुरलाई एक्स–रे र प्रिन्टर मेशिन हस्तान्तरण

झापा । नेपाल क्षयरोग निवारण संस्था झापाले प्रादेशिक अस्पताल भद्रपुरलाई अत्याधुनिक एक्स–रे र प्रिन्टर मेशिन हस्तान्तरण गरेको छ । संस्थाको पहलमा अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) द्वारा प्राप्त एक्स–रे मेशिन र संगम बायो मेडिकल सोल्युशन विराटनगरले प्रदान गरेको प्रिन्टर मेशिन बुधबार एक समारोहका बीच प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको हो ।

करिब डेढ करोड मूल्यबराबरको एक्स–रे मेशिन अस्पताललाई हस्तान्तरण गरिएको नेपाल क्षयरोग निवारण संस्था भद्रपुरका सभापति गोपालबहादुर थापाले जानकारी दिए । सभापति थापार र प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु खड्काबीच ती मेशिनहरु हस्तान्तरणसम्बन्धी सम्झौपत्र आदान–प्रदान भएको थियो ।
संस्था र अस्पतालबीच १४ बुँदे सम्झौता भएको हो । सम्झौतापत्रको रोहबरमा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की र ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा (मनोज)–ले हस्ताक्षर गरेका छन् ।
पछिल्लो समयमा बिरामीको चाप बढ्दै गएको पप्रादेशिक अस्पतालमा रहेको एक्स–रे मेशिन निकै पुराना भइसकेको अवस्थामा अत्याधुनिक मेशिनको प्रयोगबाट अधिकतम सेवाग्राहीलाई छिटो–छरितो ढंगले सेवा प्रदान गर्न सकिने मेडिकल सुपरिन्टेन्डेन्ट डा. खड्काले बताए । उनले दाता संस्थाहरु र पहल गर्ने क्षयरोग निवारण संस्था भद्रपुरप्रति आभार व्यक्त गरे ।

अधिकतम विपन्न समुदायले सेवा लिने सो अस्पतालको एक्स–रे सेवालाई छिटोछरितो तुल्याउने उद्देश्यले क्षयरोग निवारण संस्थाको पहलमा दातृसंस्थाहरूले एक्स–रे र प्रिन्टर मेशिन उपलब्ध गराएको संस्थाका सभापति थापाले जानकारी दिए ।

उनले सम्झौताअनुसार अस्पतालले क्षयरोग निवारण संस्थाबाट एक्स–रे सेवाका लागि सिफारिस गरिएका अति विपन्न व्यक्ति र क्षयरोगीहरूलाई निःशुल्क सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, अध्यक्ष गौरव सुब्बा लगायतले मन्तव्य राखेका थिए । सम्झौता पत्रको वाचन संस्थाका सदस्य गोपाल गिरीले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केदार महतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *