झापा । झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । डोमालाल राजवंशी रंगशालामा शनिबार सुरु भएको छैटौं झापा गोल्डकपको उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई उक्त रकम बराबरको चेक प्रदान गरिएको हो ।
समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईंद्वारा उपलव्ध गराइएको एक लाख रुपैयाँ राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । उनले झापा गोल्डकपको बजेटबाट सहयोग गर्न रकम अपुग भएपछि दाता खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको जानकारी दिए ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । अध्यक्ष बस्नेतले दाता प्रसाई दम्पत्तीलाई धन्यवाद दिएका छन् ।
यसअघि झापा गोल्डकपले जग्गादाता राजवंशीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । फागुन ८ गते राजवंशी विकास प्रतिष्ठानको अगुवाइमा दाता डोमालाल राजवंशीको परिवारको निम्न अवस्थाका कारण कम्तीमा पाँच लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने लगायतको माग गरिएको थियो ।
स्वर्गीय डोमालालकी छोरी सम्पत्ति र नातिनी बुहारी ललिता राजवंशीको उपस्थितिमा प्रतिष्ठानले झापा गोल्डकप र बिर्तामोड नगरपालिकालाई चारबुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने, डोमालाल राजवंशीले दिएको जग्गामा करोडौको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अवस्थालाई मनन गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने लगायतका माग गरिएको थियो ।
डोमालाल राजवंशी रंगशालासँग सम्बन्धित गोल्डकप आयोजक समिति, संरक्षण समिति लगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनुपर्ने पनि माग गरिएको छ ।
ती मागहरुप्रति गोल्डकपका अध्यक्ष बस्नेत सकारात्मक देखिएकोले नै २५ हजार निर्णय भए पनि एक लाख रुपैयाँ हस्तान्तरण गरिएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।
डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाहा जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालको परिवारले मजदुरी गरी गुजारा गरिरहेका छन् ।