झापा । मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन झापाको विर्तामोडमा भोलि आइतबार हुने भएको छ । अडिसनका बारेमा आयोजक संस्था द हिडन ट्रेजरले हिजो शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
द हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशीले अनुसार ३०औं संस्करणको मिस नेपालका लागि क्षेत्रीय अडिसन बिर्तामोडको होटल सिद्धार्थमा गर्न लागिएको जानकारी दिए ।
यसअघि भरतपुर, वीरगन्ज, नेपालगन्ज, पोखरा र सुर्खेतमा अडिसन सकिएको र इटहरी र भैरहवामा अडिसन बाँकी रहेको उनले जानकारी दिए ।
युवाले आफ्नो देशलाई कस्तो बनाउने भन्नेमा भूमिका निर्वाह गर्न र आफ्नो क्षमता प्रस्तुत गर्ने उत्तम प्लेटर्फमको रुपमा मिस नेपाल रहेकाले युवतीहरुलाई प्रतियोगितामा सहभागी हुन मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधानले आग्रह गरिन् ।
यस वर्षको प्रतियोगिताका लागि ५ फिट ३ इन्च उचाई भएको, १२ कक्षा पास भएको र १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने निर्देशक राजवंशीले जानकारी दिए । आवेदन निःशुल्क दिन सकिने उनले बताए । मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले अवसर खोजी गर्ने र राष्ट्र निर्माणका लागि युवतीहरुले कस्तो भूमिका खेल्न सकिन्छ भन्ने खोजी गर्न सकिने उपयुक्त प्लेटफर्म मिस नेपाल रहेको बताइन् ।
मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९ गते गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा हुने द हिडन ट्रेजरका निर्देशक राजवंशीले जानकारी दिए । मिस नेपालको मुख्य प्रायोजन डाबर नेपालको गर्दै आएको छ । यस वर्षको प्रतियोगिताको पनि मुख्य प्रायोजक डाबरको वाटिका स्याम्पु रहेको राजवंशीले जनाए ।
विर्तामोडमा हुने क्षेत्रीय अडिसनको संयोजन रोटरी क्लव अफ विर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले गर्दैछन् । ‘पहिले–पहिले अडिसनका लागि काठमाडौं नै जानुपथ्र्यो’, अग्रवालले भने– यसपटक आयोजक संस्था प्रतिभा खोजीका लागि मोफसलमा आएको छ । यो अवसरको फाइदा उठाउन पूर्व क्षेत्रका योग्य युवतीहरुलाई आग्रह गर्दछु ।’