झापा । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
शुक्रबार बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति को आयोजना र विर्तामोड नगरपालिकाको संयोजनमा आयोजित उक समारोहका बीच विदेशी ओलम्पियनहरु समेतलाई स्वागत–सम्मान गरिएको हो ।
कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवद्र्धका लागि ओलम्पिकमा सहभागिता जनाएका ६० जना नेपाली ओलम्पियन्स खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडी र अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छ जना ओलम्पियनहरु सहभागी छन् ।
विर्तामोड ४ स्थित सिद्धार्थ होटलमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन, नगर खेलकुद विकास समिति अध्यक्ष विकास गिरी, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, स्थानीय अग्रज तथा अन्य खेलाडीहरुले ओलम्पियन्स तथा सेलिब्रेटी खेलाडीलाई स्वागत–सम्मान गरेका थिए । जिल्ला खेदलकुद विकास समितिका सदस्य चेतामणि खनालले सञ्चालन र अध्यक्ष भण्डारीले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा ओलम्पिक खेलाडीलाई झापा गोल्डकपका तर्फबाट खादा पहिर्याइएको थियो भने भद्रपुर झापा गोल्डकपका तर्फबाट टि–सर्ट र वर्दु भ्याली टि इण्डष्ट्रिज इलामका तर्फबाट अर्थोडक्स चिया उपहार प्रदान गरिएको थियो । चिया चिया उद्यमी बुद्ध भुषण योञ्जनले उपलब्ध गराएका थिए ।
पुनर्मिलन कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर आज शनिबार सम्पन्न भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको हो ।
नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडीलगायत सहभागी छन् ।