आ. व. ०८१÷०८२ का लागि कचनकवल गाउँपालिकाद्वारा ६६ करोड ३१ लाखको बजेट प्रस्ताव

झापा । नेपालकै सबैभन्दा होचो स्थान रहेको झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ६६ करोड बढीको बजेट प्रस्ताव गरेको छ ।

आज बनियानीस्थित गाउँपालिका कार्यालयको सभाहलमा सुरु गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले आ. व. ०८१÷०८२ का लागि ६६ करोड ३१ लाखको बजेट प्रस्ताव गरेका हुन् ।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष भट्टराईले प्रस्तावित बजेट सार्वजनिक गर्दै बजेट खर्च हुने क्षेत्रहरु पनि छुट्याइएको जानकारी दिए ।

प्रस्तावित बजेट अनुसार ०८१÷०८२ का लागि चालु खर्चतर्फ ३९ करोड १० लाख र पूँजीगत खर्चतर्फ २७ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपप्रमुख भट्टराईले प्रस्तुत बजेटमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाभित्र निर्माणाधीन १५ सैय्याको अस्पताल र गरिबसँग विश्वेश्वर कार्यक्रमवापत प्राप्त हुने बजेट समावेश नरहेको जानकारी दिए ।

उपप्रमुख भट्टराईले बजेट तर्जुमा गर्दा ‘लगानी, जनशक्ति, पूर्वाधार विकास र रोजगारी, स्थानीय उत्पादन, उत्पादनको बजारीकरण, र विपन्नवर्गलाई संरक्षण गरी आयआर्जन, सुशासनको अभिबृद्धि गर्दै सेवा प्रवाहलाई सेवामुखी र जनमुखी, अर्थतन्त्रको पुनरुत्थानका लागि पूर्वाधारमा लगानी, उत्पादन, रोजगारी र वितरण, वस्ती विकासको रणनीतिक योजना, कार्यक्रम, भूउपयोग तथा विकास, शिक्षा, स्वास्थ्य र जनजीविकाको उन्नयन र लगानी, कृषि, पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रहरुको विकास एवम् प्रवद्र्धन, लैंगिक समानता, समावेशीकरण र दुव्र्यसनमुक्त समाज र खेलकुद र सामाजिक उत्तरदायित्वमा सकारात्मक र सबल युवा’जस्ता विषयलाई प्राथमिकतामा राखिएको बताए ।

गाउँपालिकाले बजेटका स्रोतहरुका संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, समपूरक तथा विशेष अनुदान, सशर्त अनुदान र आन्तरिक आयलाई मानेको छ । उपाध्यक्ष भट्टराईले गाउँपालिकाको आन्तरिक आय २ करोड हुने अपेक्षा गरिएको बताए ।

यसैगरी, उपाध्यक्ष भट्टराईले चालु आर्थिक वर्षको संशोधित बजेटको समीक्षा गर्दै आर्थिक वर्षको अन्त्यसम्ममा कूल बजेटको ७५ प्रतिशत खर्च हुने अनुमान गरिएको सभामा जानकारी गराएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनसमेतको उपस्थिति रहेको गाउँसभामा अध्यक्ष राजवंशीले ०८१÷०८२ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना–प्रविधि, महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने किसिमका योजना समेटिएको अध्यक्ष राजवंशीले जानकारी दिए ।

उनले नेपालकै होचो भूभागको महत्वपूर्ण ऐतिहासिकता बोकेको कचनकवल क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजनाका साथ गाउँपालिकाले कार्यक्रमहरु अघि बढाउने पनि जानकारी दिए ।

नीति तथा कार्यक्रम सभाले आजै पारित गरेको छ भने बजेटमाथि छलफल हुने थाहा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *