चारजना उत्कृष्ट करदातालाई सम्मानसहित झापामा कर सप्ताह समापन

झापा । आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले आफ्नो सेवा क्षेत्रभित्रका सर्वोत्कृष्ट करदाता लाई सम्मान गर्दै यस वर्षको कर सप्ताह समापन गरेको छ ।
आज कार्यालय परिसरमा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८१ समापन समारोहका बीच कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा सबैभन्दा बढी कर दाखिला गर्ने चारजना करदातालाई सम्मान गरेको हो ।


कार्यालयको सेवा क्षेत्र माईपूर्व झापाका एक, इलामका एक, पाँचथरका एक र ताप्लेजुङका एक प्रतिष्ठानलाई सम्मान गरिएको समारोहका अध्यक्ष प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।
समारोहमा झापाको बिर्तामोड ३ मा रहेको मेची दृष्टि आई हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, इलामको फिक्कल उत्तम स्टोर, पाँचथरको केरुङ एण्ड एसोसिएट्स रजिष्टर्ड अडिर्टस र ताप्लेजुङको अनिमेष इन्टरप्राइजेजलाई सम्मान गरियो ।


मेची दृष्टि आईका तर्फबाट अध्यक्ष राम उप्रेती, फिक्कल स्टोर्सका सञ्चालक उत्तम क्षेष्ठ, पाँचथरको केरुङ एण्ड एसोसिएट्सको तर्फबाट नरेन्द्रकुमार केरुङ र ताप्लेजुङको अनिमेष इन्टरप्राइजेजलाई समारोहका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । फिक्कल स्टोरले यो १० औं पटक सम्मानपत्र प्राप्त गरेको सञ्चालक उत्तम श्रेष्ठले बताए ।


यसैगरी, उत्कृष्ट कर्मचारीका रुपमा विगत ३३ वर्षदेखि कार्यरत सुमन सिंह तामाङलाई पुरस्कृत गरिएको छ । उनलाई कार्यालय प्रमुख काफ्लेसहित प्रमुख अतिथि बाँस्तोलाले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका थिए ।
समारोहमा प्रमुख आतिथि बाँस्तोला, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, चार्टड एकाउन्टेन्ट एशोसिएशन झापा अध्यक्ष सुशीलकुमार अग्रवालसहित सम्मानित करदाताको तर्फबाट राम उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।
समापन समारोहको सञ्चालन कार्यालयकी नासु सीतादेवी खतिवडाले गरेकी थिइन् भने स्वागत कर अधिकृत ज्ञानेन्द्रबहादुर राईले गरेका थिए ।

यसैगरी कर सप्ताहको अवसरमा कार्यालयले आयोजना गरेको फटुसल प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई मेड तथा शील्ड प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *