एनएमसीको माइन्यूट प्रमाणिकरण सभा ः उत्कृष्ट कर्मचारीहरु पुरस्कृत

नेपालकै अग्रणी सहकारीहरु मध्येको एक झापाको मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी–ले ३२ औं साधारणसभाअन्तर्गत माइन्यूट प्रमाणित सभा सम्पन्न गरेको छ । शनिबार विर्तामोडको विर्ता पार्टी प्यालेसमा संस्थाले सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष ठाकुप्रसाद शिवाकोटीको अध्यक्षतामा आयोजित समारोहका बीच कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री राम राना मगरले सभाको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री मगरले गरिबी निवारणमा सहकारी क्षेत्रको उल्लेख्य योगदान रहँदै आएको बताए । उनले समुदायमा सहकारीले आर्थिक जागरण सिर्जना गरिरहेको बताउँदै पछिल्लो समय केही गलत मनसायका केही सञ्चालकहरुका कारण सिंगो सहकारी अभियानलाई बदनाम गराउने प्रयास भइरहेको बताए । मन्त्री मगरले सहकारीको ऋण तिर्न पर्दैन भनेर केही समूहले यो क्षत्रलाई धरासायी बनाउन लागेको बताउँदै त्यस्तो भ्रमबाट मुक्त हुन सहकारीका ऋणी सदस्यहरुलाई आग्रह पनि गरे ।

संस्थाकी उपाध्यक्ष भगवती घिमिरेले स्वागत र कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको सो सभाका अवसरमा संस्थाका दुई दर्जनबढी कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।
संस्थाले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा उत्कृष्ट सेवा गरेवापत उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

आव २०७९÷०८० मा वर्ष सर्वोत्कृष्ट कर्मचारी र डेरी व्यवसायतर्फको उत्कृष्ट कर्मचारी गरी दुई वटा पुरस्कार एनएमसी डेरी उद्योगका नवराज अधिकारीले पाए । सोही वर्षका लागि व्यवसायगत वर्ष उत्कृष्ट कर्मचारीमा डेरी उद्योगका अधिकारीसहित सहकारी पसलकी अनुपमा आचार्य र बचत तथा ऋण व्यवसायतर्फ सुनिता दाहाल पुरस्कृत भए । सर्वोत्कृष्ट व्यावसायिक इकाई प्रमुखतर्फ रीता श्रेष्ठ र सुवास खतिवडा पुरस्कृत भए भने सर्वोत्कृष्ट सहजकर्तातर्फ देविका दंगाल पुरस्कृत भइन् ।


यसैगरी, आ.व. २०८०÷०८१ मा वर्ष सर्वोत्कृष्ट कर्मचारीको रुपमा कर्पोरेट कार्यालयका अधिकृत रमेश हरिजन पुरस्कृत भए । व्यावसायगत सर्वोत्कृष्ट कर्मचारीमा डेरी उद्योगका मेघनाथ न्यौपाने, डेरी व्यवसायका सोनम शेर्पा र बचत तथा ऋण व्यवसायकी नविना चापागाई पुरस्कृत भए भने सर्वोत्कृष्ट व्यावसायिक इकाई प्रमुखतर्फ सहकारी पसलकी बसन ठकुरी र बचत तथा ऋण व्यवसायकी कुष्पना खरेल पुरस्कृत भए । सर्वोत्कृष्ट सहजकर्तातर्फ रीता भट्टराई पुरस्कृत भइन् ।
सबै पुरस्कारको राशी नगद रु. १५ हजार रहेको छ ।

यसैगरी, संस्थाले २५ वर्षे सेवा अवधि पूरा गरेका सुरुंगाका गंगाराम तिम्सिनालाई १० ग्राम सुनको दीर्घ सेवा पदकले सम्मानित गरेको छ भने दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई ५० ग्राम चाँदीको पदकले सोही सम्मान गरिएको छ । एनएमसीले दश वर्ष सेवा अवधि पूरा गरेका २३ जना विभिन्न पदका कर्मचारीलाई चाँदीको पदकले सम्मानित गरेको छ । उक्त पदक पाउनेमा टीकामाया ढकाल, हिमा प्रधान, सीतादेवी भुर्तेल, रुद्रप्रसाद ढकाल, शान्ति थापा, कृष्णकुमारी नेपाली, शेखर पौडेल, रोहितकुमार गणेश, होमनाथ मैनाली, ममता मल्लिक, रुवा राजवशी, वेणुप्रसाद अधिकारी, यशोदा गिरी, सोमी हेमरम, राधा डाँगी, मनकुमारी अधिकारी, लोकप्रसाद चापागाई, जानुका नेपाल सापकोटा, झलनाथ भट्टराई, गीताञ्जलि पौडेल, सुशिला शिवाकोटी, संगीता तामाङ र कृष्पना खरेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *