विर्तामोडमा प्रथम झापा कप फुटबल सुरु, पहिलो खेलमा आर्मी विजयी

झापा । झापाको विर्तामोडमा आजदेखि प्रथम झापा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

विर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा एक भव्य समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरे । मुख्यमन्त्री कार्कीले झापाको स्तरीय क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश सरकारले उचित सहयोग गर्न नसकेको बताए । उनले प्रदेशको स्रोतले भ्याएसम्म यो प्रतियोगितालाई सहयोग गर्ने बचनबद्धता समेत प्रकट गरे । उनले डोमालाल राजवंशी रंगशालामा सुविधासम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको बताए ।
झापा ११ फुटबल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लव विजयी भएको छ ।

आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । आर्मीका लागि अर्काे गोल खेलको ८२ औँ मिनेटमा भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् ।

खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।

भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजक क्लवका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले बताए ।

प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।

आयोजक क्लवका अध्यक्ष गुरुङको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली कांग्रेसका सभापति देउकुमार थेवे, जिल्ला समन्वय समितिकी उपाध्यक्ष शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’लगायतको आतिथ्यता थियो ।

बिर्तामोडका फुटबल समर्थकको योजनामा यो वर्षदेखि झापा कप आयोजना हुन थालेको हो । झापा गोल्डकप आयोजना गर्दै आएको समूहले नै झापा कप आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *