पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कांग्रेस र एमाले सम्मिलित सत्ता गठबन्धनका नरेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
माओवादी र जनता समाजवादी पार्टीसहितको सत्ताइतर गठबन्धनकी रेखा इङनाम लावतीलाई ५ सय १० मतान्तरले हराउँदै अधिकारी तीनवर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचनमा ९ सय ६६ मत खसेको थियो । जसमध्ये ८ सय ९८ मत सदर भएको छ ।
अधिकारीले ७ सय ४ मत प्राप्त गर्दा इङनामले १ सय ९८ मत पाएको निर्वाचन समितिले जनाएको छ । संघको चारजना उपाध्यक्षमा दिपेश गुप्ता, सूर्यकुमार मगर, शिव अधिकारी र उमानाथ अधिकारी, सचिवमा विकास थापा र कोषाध्यक्षमा गणेश काफ्ले निर्वाचित भएका छन् । महासचिव पदमा भने चन्द्रप्रसाद काफ्ले निर्विरोध निर्वाचित भएका थिए ।
सदस्यहरुमा भिमबहादुर कार्की, योगराज सेढाई, निर्मल श्रेष्ठ, याम ढुङ्गाना, केशव पौडेल, भविन मोक्तान, तिलरुपा पोखरेल, देउकुमार योङहाङ, लिलानाथ खरेल, मदन कालिकोटे र नारायण दाहाल तथा महिला सदस्यमा चन्द्रकला थापा निर्वाचित भएका छन् ।
संघको निर्वाचनमा सत्ता गठबन्धन र गठबन्धनइतरका दल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।