झापा । झापाको भद्रपुर–८, सगरमाथास्थित घाटामा रहेको सर्वसुलभ वचत तथा ऋण सहकारी संस्था सञ्चालकहरुको सुझबुझ र व्यवस्थापनको कुशलताका कारण नाफामा पुगेको छ । ओम साई पाथिीभरा हस्पिटल तथा सौर्य एयरलाइन्सका अध्यक्ष एवम् उद्योगी, समाजसेवी दीपककुमार पोखरेलले संस्थाको नेतृत्व सम्हालेपछि संस्थाले सकारात्मक गति लिएको बताइएको छ ।
वि. सं. २०६९ सालमा ४१ जना शेयर सदस्य मिलेर स्थापना गरेको सो सहकारी संस्था केही वर्ष अघिसम्म विभिन्न कारणले संकटमा परेको थियो । संकटमा रहेको संस्थाको नेतृत्व पोखरेलले लिएपछि भने क्रमशः गति लिएको बताइएको छ ।
यसैबीच संस्थाले आज शनिबार सातौँ साधारणसभा सम्पन्न गरेको छ ।
भद्रपुर–८ स्थित नेपाल सामुदायिक विकास केन्द्रको सभाहलमा आयोजित साधारणसभाको प्रमुख अतिथि भद्रपुर नगरापलिकाका प्रमुख गणेश पोखरेल रहेको थिए ।
संस्थाका उपाध्यक्ष दीप पौडेलले सञ्चालन र व्यवस्थापक अर्जुन दुलालले स्वागत गरेको सो साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दीपक पोखरेलले संकटग्रस्त अवस्थामा रहेको संस्थालाई सञ्चालक समितिको सुझबुझ, शेयर सदस्यहरुको विश्वास–भरोसा र व्यवस्थापन पक्षको कुशलताका कारण नाफाको अवस्थामा पुर्याउन सफल भएको भन्दै सबैको साथ–सहयोगप्रति भन्यवाद व्यक्त गरे ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ५ लाख २५ हजार ४३८ रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी, आ. व. ०८०÷०८१ सम्ममा स.सथाको शेयरपूँजी ८८ लाख ७४ हजार ४२५ रुपैयाँ पुगेको छ भने एक करोड ९७ हजर ८११ रुपैयाँ निक्षेप संकलन र एक करोड ९१ लाख ९४ हजार २७५ रुपैयाँ ऋण लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थामा हाल सदस्य संख्या १६८० रहे पनि सक्रिय सदस्य संख्या ७६१ रहेको जनाइएको छ ।
साधारणसभामा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, वडा नं. ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज), भद्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेललगायतले सहकारी क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेको अकरिलो अवस्थामा पनि संस्थालाई नाफामा लैजान सञ्चालक समितिले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।
साधारणसभाको बन्दसत्रले अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन सुझावसहित पारित गरेको व्यवस्थापक दुलालले जानकारी दिए ।
अध्यक्षमा पुनः पोखरेल
यसैबीच संस्थाको अध्यक्षमा पुनः दीपककुमार पोखरेल चयन भएका छन् । साधारणसभाको बन्दसत्रले अध्यक्षमा पोखरेललाई सर्वसम्मत चयन गरेको हो ।
यस्तै संस्थाको उपाध्यक्षमा उद्यमी नितेश वर्मा, सचिवमा मनोज दाहाल, सहसचिवमा योगेन्द्र ढुंगाना र कोषाध्यक्षमा रामहरि खतिवडा सर्वसम्मत चयन भएका छन् भने सदस्यमा रविन राजवंशी, बुद्धिराज कोइराला, तोयानाथ गड्तौला र निर्मला खतिवडा चयन भएका छन् । यसैगरी, भद्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, युवा उद्यमी दिपेश ढकाल, ७ नं वडाध्यक्ष अभिषेक ढुंगाना, ८ नं वडाध्यक्ष गौरब सुब्बा र आनन्द खतिवडा सल्लाहकार चयन भएको दीप पौडेलले जानकारी दिए । पौडेल लेखा समिति संयोजकमा चयन भएका छन् ।