चिनियाँ राजदूत सोङ्गद्वारा विद्यार्थीलाई छात्रवृत्ति, भवन उद्घाटन

झापा । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले झापाका चारवटा विद्यालयका ४० जना विद्यार्थीलाई छात्रवृत्ति र एक हजार विद्यार्थीलाई स्टेशनरीसहितको व्याग तथा खेलकुदका सामाग्री वितरण गरेका छन् ।

राजदूत सोङ्गले विर्तामोड नगरपालिका–८ स्थित शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड–९ स्थित दुर्गा माध्यमिक विद्यालय, देवकोटा आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका–६ को शनिश्चरे माध्यमिक विद्यालयका ४० जना विद्यार्थीलाई रु. १० हजारका दरले

छात्रवृत्ति प्रदान गरेका थिए । उनले आज र हिजो आयोजित कार्यक्रममा प्रत्येक विद्यालयका १० जना विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरे भने शनिश्चरे माविका छ सय र दुर्गा माविका चार सय विद्यार्थीलाई १९ प्रकारका स्टेशनरी सामाग्री प्रदान गरे ।

त्यसैबीच राजदूत सोङ्गले चिनियाँ राजदूतावासको सहयोगमा निर्माण भएको शुक्रराज आमाविको चारकोठे दुईतले भवनको उद्घाटन गरे भने दूतावसकै सहयोगमा बन्न लागेको देवकोटा आमावि भवनको समेत शिलान्यस गरे ।

सो अवसरमा राजदूत सोङ्गले चीनको विकास शिक्षाकै कारण भएको बताउँदै आगामी दिनमा समेत नेपालको शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले नेपाल र चीनको सम्बन्ध पुरानो रहेको बताउँदै २०७२ सालमा गएको भूकम्पपछि नेपालका विभिन्न स्थानमा १० वटा विद्यालयका भवन निर्माणमा सहयोग गरेको बताए ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाको विकासको लागि पूर्वाधार, कृषि, शिक्षालगायतका क्षेत्रमा चिनियाँ दूतावासले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।

चिनियाँ राजदूत सोङ्गले विर्तामोड र अर्जुनधाराका दुईवटा गाई फार्म, दुई वटा माछा फार्मलाई आवश्यक प्राविधिक सहयोग गर्ने बताए । उनले अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेका मुढा, बाँसबाट निर्मित सामाग्री, सुपारीको पातबाट निर्माण गरिने दुना–टपरी उद्योगको समेत अवलोकन गरी चीनमा बजारीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *