उदाउँदो सूर्यलाई अर्घ्य चढाउँदै नेपाल र भारतका श्रद्धालुले सँगै मनाए मेची किनारमा छठ

झापा । आज विहान उदाँउदो सूर्यलाई अघ्र्य चढाउँदै झापाको सीमावर्ती मेची नदी किनारमा नेपाल र भारतका श्रद्धालुले एकसाथ छठ पर्व मनाएका छन् ।

भद्रपुर नगरपालिका– ५ स्थित मेची नदीको पश्चिमतिर नेपाली नागरिक र पूर्वतिर भारतीय नागरिकले हर्सोल्लासका साथ छठ पर्व मनाएका हुन् ।

नदी किनारको मसानघाटदेखि मेची पूलको मुख्यद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजार बढी पूजास्थल (घाट)–मा व्रतालु तथा श्रद्धालु भक्तजनले पानीमा ओर्लिएर सूर्य भगवानको पूजा आराधना गरी अघ्र्य चढाएका थिए ।

मेची पूलनजिकै मैथिल समाज भद्रपुरले अस्थायी रूपमा सूर्य भगवानको मूर्ति राखेर र युनिक समूहले देवीवस्तीमा स्थायी रूपमा बनाएको सूर्य भगवानको मन्दिरमा भक्तजनहरुले विशेष पूजा आराधना गरेका थिए । भद्रपुर नगरपालिकाले छठ पर्वका अवसरमा सन्ध्याकालीन भजनसहित गंगा आरतीको आयोजना गरेको थियो ।

नगरपालिका, ५ नम्बर वडा कार्यालय, युनिक समूह र मैथिल समाजको संयुक्त आयोजना गरिएको गंगा आरतीमा छठ हेर्न आएका भक्त्जनहरुको उल्लेखनीय सहभागिता रहेको नगर प्रमुख गणेश पोखरेलले बताए । मधेसी समुदायसँगै साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदा एक लाखबढी भक्तजनको घुइँचो लागेको थियो । मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्लालगायत भारतबाट पनि हजारौं दर्शनार्थी आएको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले जानकारी दिए ।

त्यस्तै मेची पूलमा फोटो खिचाउने र भिडियो बनाउने भक्तजनहरूको भीड पनि त्यतिकै थियो । मेची किनारमा व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षाका लागि सशस्त्र, नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी करिब दुई सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । सेनासहितको संयुक्त गस्तीले पनि सुरक्षा दिएको थियो ।

जिल्लाको मेचीसहित निन्दा, हँडिया, विरिङ, रतुवा, अन्दुवा, देउनियाँ, कनकाईलगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *