ढकालले सम्हाले सार्क चेम्बर अफ कमर्सको अध्यक्षको पदभार

झापा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष झापा भद्रपुरका स्थायी वासिन्दा चण्डीराज ढकालले सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १६औँ अध्यक्षका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पाकिस्तानको इस्लामावादमा आयोजित एक विशेष समारोहका बीच उनले नेतृत्व सम्हालेका हुन् ।

पाकिस्तान सरकारका संघीय रेलमन्त्री मुहम्मद हनिफ अब्बासीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा निवर्तमान अध्यक्ष मोहम्मद जसिम उद्दीन (बङ्गलादेश)–ले नवनिर्वाचित अध्यक्ष ढकाललाई सार्क चेम्बरको झण्डा हस्तान्तरण गरेर पद हस्तान्तरण गरेका थिए । उनले आफ्नो कार्यकालमा इस्लामवादमा सार्क चेम्बरको मुख्यालय भवन निर्माण सम्पन्न हुनुलाई ठूलो उपलब्धिको रूपमा स्मरण गरेका थिए ।

सो अवसरमा मन्त्री अब्बासीले ढकाललाई आधिकारिक ‘सार्क चेम्बर क्रेस्ट’ समेत प्रदान गरेका थिए ।

समारोहमा प्रमुख अतिथि मन्त्री अब्बासीले दक्षिण एसियाली देशहरू बीचको क्षेत्रीय एकीकरणबिना सार्क क्षेत्रको उत्थान सम्भव नभएको बताएका थिए । उनले नेपालको नेतृत्वलाई पाकिस्तान सरकार र निजी क्षेत्रको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिँदै सार्कका आदर्शहरू प्रति पाकिस्तान सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

यसैगरी, समारोहकी विशेष अतिथि पञ्जाब महिला संरक्षण प्राधिकरणकी अध्यक्ष हिना परवेज बटले दिगो विकासका लागि व्यापार र नेतृत्वमा महिलाको सहभागिता अनिवार्य रहेको धारणा राखिन् ।

समारोहमा भारत, श्रीलङ्का, माल्दिभ्स र नेपालका प्रतिष्ठित व्यावसायिक नेताहरूले भर्चुअल माध्यमबाट सहभागी भई नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । सार्क चेम्बरका भारत च्याप्टरका उपाध्यक्ष विनोद जुनेजा र श्रीलङ्का च्याप्टरका उपाध्यक्ष डा. रोहिता सिल्भा लगायतले ढकालको गतिशील नेतृत्वमा निजी क्षेत्रको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरेका थिए ।
समारोहमा नेपालबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष हेमराज ढकाललगायत केन्द्रीय सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष ढकालले सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीलाई संवाद गर्ने निकायमा मात्र सीमित नराखी ठोस आर्थिक नतिजा निकाल्ने ‘एक्सन–ड्राइभन’ प्लेटफर्म बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले राजनीतिक चुनौतीका बाबजुद पनि निजी क्षेत्रको नेतृत्वमा क्षेत्रीय आर्थिक सहयोग र कनेक्टिभिटीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘दक्षिण एसियाको समृद्धिका लागि व्यावसायिक कूटनीति र साझा विश्वास नै मुख्य आधार हुन्’, ढकालले भने– ‘हामी यो संकल्पलाई अघि बढाउन प्रतिबद्ध छौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *