झापा । समाजमा साइकल संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील भद्रपुर साइकल समाज र भद्रपुर नगरपालिका वडा नं ५ को संयुक्त आयोजनामा हुन लागेको टुर दि भद्रपुर साइकलयात्राको सबै तयारी पूरा भएको छ ।
आयोजक भद्रपुर साइकल समाजले आज भद्रपुर नगरपालिकाको सभाहलमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियात्मक भेला तथा पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो ।
झापाको सदरमुकाम भद्रपुर नगरपालिका, छिमेकी पालिकाहरु कचनकवल र हल्दिबारीका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण विभिन्न पुरातात्विक धार्मिकस्थल, पर्यटकीयस्थल एवम् वन तथा सिमसार क्षेत्र समेटिने गरी रुट तयार गरिएको यात्रा यही बैशाख १८ गते भद्रपुर नगरपालिका कार्यालय परिसरबाट सुरु हुने आयोजक भद्पुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए । यात्राका क्रममा भद्रपुरको पुरातात्किव ऐतिहासिक धार्मिकस्थल कीचकबध, कमलधाम संयुक्त धार्मिकस्थल, भद्रपरको दक्षिणी क्षेत्रका सिमसार क्षेत्र हुँदै नेपालकै सबैभन्दा होचो स्थान कचनकवल गोउँपालिकाको कचनकवलस्तम्भ, दुर्गाभिट्टा सामुदायिक वन, जैविक विविधताले भरिपूर्ण जलथल जंगल हुँदै हल्दिबारीको पाथिभरा÷कालिका सामुदायिक वन, पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र, भेलागुडी सिकसार, झोलुंगे पूल, कलबलगुरी प्रादेशिक, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान हुँदै अपरान्ह चन्द्रगढीको महेन्द्र पाकृमा यात्रा सकिने र साँझमा भद्रपुर–८ स्थित होटल डे–ग्लोमा सांस्कृतिक प्रस्तुतिका साथ कार्यक्रम समापन गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

साइकलयात्रामा सहभागिताका लागि नेपालका विभिन्न ठाउँ मात्र नभई भारत र भूटानसमेतबाट साइकल राइडरहरुले चासो देखाएर नाम दर्ता गराएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । करिब ६३ किलोमिटरको रहने यात्रामा २०० जना दर्तावाला राइडर र अन्य गरी करिब ३०० जना सहभागी हुने अपेक्षा गरिएको समाजका उपाध्यक्ष जीतु शर्माले जानकारी दिए ।
टुर दि भद्रपुरमा सहभागी हुन चाहनेका लागि सामान्य शुल्कको व्यवस्था गरिएको थियो । समाजका कोषाध्यक्ष देवीबहादुर श्रेष्ठका अनुसार गैर आवासीय राइडरका लागि रु. ११०० र आवासीय राइडरहरुका लागि रु. १६०० सहभागिता शुल्क तोकिएकोमा २०० राइडरले स्वतःस्फूर्तरुपमा नाम दर्ता गराएका छन् ।
साइकलयात्रीहरुलाई यात्राका दौरान कुनै पनि प्रकारको असुविधा नहने गरी आवश्यक सबै किसिमका सामग्री र सेवाहरुको व्यवस्थापन मिलाइसकिएको समाजका सदस्य समिर पोखरेलले जानकारी दिए ।
स्वस्थ तथा प्रदूषणमुक्त समाज निर्माण, आन्तरिक पर्यटन प्रवद्र्धन एवम् नेपालको सबैभन्दा पुरानो नगरपालिकामध्येको एक भद्रपुर नगरपालिकाको पहिचान थप उजागर गर्ने उद्देश्यले टुर दि भद्रपुर आयोजना गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिँदै यो कार्यक्रमलाई साथ–सहयोग दिन सबै साइकलप्रेमीहरुलाई अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनको उद्घाटन फरक शैलीमा गरिएको थियो । प्रमुख अतिथि गणेश पोखरेल र विशिष्ट अतिथि उपप्रमुख राधा कार्कीले साइकल कुदाएर सम्मेलनकको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख पोखरेल, उपप्रमुख कार्की, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतले टुर दि भद्रपुरको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए । कायृक्रमको सञ्चालन भद्रपुर नगरपालिका युवा परिषदका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले गरेका थिए ।
सोही अवसरमा साइकलयात्रीका लागि तयार पारिएको जर्सी पनि सार्वजनिक गरिएको थियो ।
