झापा । बहुमूल्य नगदे कृषिबाली अलैँचीको गुणस्तर सुधार तथा बजारीकरण सम्बन्धमा सर्वाधिक अलैँची उत्पादन हुने जिल्लाका सरोकारवालाहरूबीच अन्तरक्रिया गरिएको छ ।
नेपाल अलैंची व्यवसायी महासंघले कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा अलैँचीको गुणस्तर सुधार र बजारीकरणका विषयमा अन्तरक्रियात्मक छलफल सुरु गरेको हो ।
शनिबार इलामको मंगलबरे र आइतबार पाँचथरको फिदिमस्थित रानीटारमा अन्तरक्रिया सम्पन्न गरेको नेपाल अलैंची ब्यवसायी महासंघले सोमबार ताप्लेजुङमा कार्यक्रम सम्पन्न गरेको महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले जानकारी दिए । यो कार्यक्रम कोशी प्रदेशको इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, खोटाङ र भोजपुर जिल्लाका लागि तय भएको उनले बताए । यी जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन हुने गर्दछ ।

कार्यक्रमहरुमा कृषक, व्यवसायी, अलैँची विकास केन्द्र, सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधिलगायतको उल्लेख्य सहभागिता भइरहेको छ ।
तेस्रो मुलुकसम्म निर्यात हुने नेपाली अलैँचीको गुणस्तरमा सुधार ल्याई बढी मूल्य प्राप्त गर्ने, कृषकहरुका समस्या पकेट क्षेत्रमै गएर बुझ्ने र समस्या टिपोट गरी नीतिगत तहमा पुर्याउने र समाधानको उपाय खोज्ने यो कार्यक्रमको उद्देश्य रहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दिपक नेपालले जानकारी दिए ।
कार्यक्रमहरुमा छलफलका क्रममा अलैँची खेती तथा व्यवसायमा देखिएका समस्या, रोग–कीरा नियन्त्रण, प्रशोधन प्रविधि तथा मूल्यको उतारचढावका विषयमा बढी जिज्ञासा र सुझावहरु राखिएको अध्यक्ष नेपालले बताए ।
सहभागीहरूले उत्पादनको गुणस्तर सुधार गर्न आधुनिक प्रविधि प्रयोग, प्राविधिक तालिम, गुणस्तर मापन प्रणाली तथा ब्रान्डिङमा जोड दिनुपर्ने धारणा राखेका छन् भने अलैँचीको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निर्यात प्रवर्द्धन, बजार सूचना प्रणाली विकास तथा किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

कार्यक्रमहरुमा महासंघका संस्थापक अध्यक्ष तथा संरक्षक राजेन्द्रकुमार घिमिरे, अलैँची विकास केन्द्रका राजु ढकाल, कृषि ज्ञान केन्द्रहरु प्रतिनिधिहरले सहजीकरण गरिरहेको बतइएको छ ।
महासंघका महासचिव प्रज्वल विमलीले सञ्चालन गर्दै आएको कार्यक्रमहरुमा वरिष्ठ उपाध्यक्ष नारायण चिमरियाले स्वागत गर्दै आएका छन् ।
कार्यक्रमहरुमा सरोकारवालाहरूले समन्वयात्मक ढंगले काम गरेमा अलैँची खेतीबाट कृषकको आय बृद्धिका साथै स्थानीय अर्थतन्त्र मजबुत बन्ने पनि बताएका छन् ।
