विर्तामोड । झापाको विर्तामोडमा आज सम्पन्न सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले जितेका छन् ।
म्याराथनमा नेपाल आर्मीका श्रेष्ठ निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् भने सशस्त्र प्रहरी बल (एपिएफ) नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् ।
उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोेले १ घन्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान र आर्मीका मोहनदेव जोशीले १ घन्टा ७ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । महिलातर्फ नेपाल प्रहरीकी रेखा बिष्ट निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरेको एथलेटिक्स प्रशिक्षक लोकप्रसाद ओलीले जानकारी दिए ।
दोस्रो भएका खेलाडीले ३१ हजार र तेस्रो भएका खेलाडीले २१ हजार नगद प्राप्त गरेको सहारा नेपालको खेलकुद उपसमितिका संयोजक भेषराज भण्डारीले जानकारी दिए ।
पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत, सातौँ, पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दशौँ भए भने महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै सकुन्तला विक दशौँ भइन् ।
चौथौदेखि दशौँसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कारस्वरुप नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा महिला तथा पुरुष गरी ५३४ जना धावकको सहभागिता थियो ।
सोही अवसरमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कँुवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको आयोजक सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।
संस्थाको कार्यालय परिसरमा संस्थाका अध्यक्ष हरिबहादु राजवंशीको अध्यक्षतामा आयोजित समारोहकी प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले विजेता खेलाडीहरुलाई पुरस्कार तथा सम्मानित पूर्व खेलाडीहरुलाई सम्मानपत्र प्रदान गरिन् ।
संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाका गतिविधि बारे प्रकाश पारेको समारोहमा स्वागत वष्ठि उपाध्यक्ष हरिप्रसाद निरौला र सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा हाफ म्याराथनको आयोजना गरेको हो । यसै अवसरमा संस्थाले सञ्चालनमा ल्याएको रकम जम्मा गर्ने मेशिनको शुभारम्भ पनि गरिएको थियो भने संस्थाले स्थापनाकालदेखि संकलित फोटाहरुको प्रदर्शनी पनि राखेको थियो ।