उद्योगी अग्रवालद्वारा पत्नीको सम्झनामा बाल आश्रम निर्माण गर्दै

झापा । झापाका उद्योगी एवम् समाजसेवी अरविन्द अग्रवालले सहयोगापेक्षी बालबालिकाकालाई मध्यनजर गर्दै आफ्नी दिवंगत पत्नी सुनिताको स्मृतिमा बालगृह निर्माण गर्ने भएका छन् ।

अग्रवालले आफ्नो उद्योग जगदम्बा प्लाईउड उद्योग रहेको स्थान विर्तामोड–८ देउनियामा बालगृह निर्माण गर्ने भएका हुन् । आज एक समारोहका बीच बालगृहको शिलान्यास गरिएको छ ।

अग्रवालले सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना गरिएको सुनिता सेवा समाजको व्यवस्थापनमा बाल गृह निर्माण सुरु गरिएको जानकारी दिए । समाजका संरक्षक शंकरलाल अग्रवालको अध्यक्षतामा आज निर्माणस्थलमा आयोजित एक समारोहका बीच भवनको शिलान्यास गरिएको हो ।

संरक्षक अग्रवाल र स्थानीय ज्येष्ठ नागरिक सावित्रादेवी कुँवरले संयुक्त रुपमा बालगृहको विधिवत शिलान्यास गरेका छन् ।

उद्योगी अग्रवालले समाज स्थापना र बालगृह निर्माणको उद्देश्यमाथि प्रकाश पार्दै कुनै पनि कारणले कोही पनि बालबालिकाले सहाराविहीन हुन नपरोस्, शिक्षाविहीन हुन नपरोस् भन्ने आफू तथा आफ्नो परिवारले चाहना राखेको बताए ।

शिलान्यास समारोहमा स्थानीय समाजसेवी खड्गबहादुर बानियाँ, दधिराम मैनाली, देवेन्द्र उप्रेती, जिफन्टकी सरस्वती श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

एक कट्ठा क्षेत्रफलमा हाललाई दुई कोठा, एउटा भान्साकोठा र शौचालयसहितको एकतले भवन निर्माण हुने र आवश्यकता पर्यो भने त्यसलाई थप गर्दै लगिने पनि अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

This will close in 0 seconds