छैठौं संस्करणको झापा गोल्डकपको तयारी सुरु, विजेतालाई १३ लाख

झापाको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको छैठौं संस्करणको तयारी सुरु गरिएको छ ।

आयोजक झापा गोल्डकपले आज विमोडमा पत्रकार सम्मेलन गरी छैठौं संस्करण बारे जानकारी दिएको हो ।

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैठौं संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए । प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

विधागततर्फ मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने अध्यक्ष वस्नेतले बताए ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको कोषाध्यक्ष केदार गिरीले बताए ।

छैठौं संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बालगायतको उपस्थिति थियो ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन झापा गोल्डकप हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *