झापामा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने प्रतिबद्धता

झापा । सरोकारवालाहरुले झापामा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् ।

भद्रपुरस्थित होटठल आनीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोषको सचिवालयले आयोजना र स्वास्थ्य कार्यालय झापाले संयोजन गरेको नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा सहभागी सरोकारवालाहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाईंले सूर्तीजन्य पदार्थ सेवन नियन्त्रणमा व्यक्ति स्वयम्को भूमिका महत्वपूर्ण हुने बताए । सूर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने सबैलाई भए पनि सेवनकर्ताले छोड्न नसकेको उनले बताए । ‘अरुले भन्दा कसैले छोड्नेवाला छैन, त्यसका लागि आफूबाटै संकल्प जरुरी छँ, उनले भने– ‘नियम–कानून भए पनि मानिसको स्वतन्त्रताको अधिकारका कारण कार्यान्वयनमा कठिनाइ छ ।’

भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले भद्रपुरमा कार्यपालिका बैठकबाटै कर्मचारी र जनप्रतिनिधिको आचारसंहिता तयार गरिएको बताए । ‘कार्यालय समय र परिसरमा कुनै पनि कर्मचारी र जनप्रतिनिधले सूर्तीजन्य पदार्थ, मादक पदार्थ, लागुऔषध सेवन गर्न नपाउने आचारसंहिता बनाएर लागू गरिएको छ’, उनले भने– ‘यसले केही हदसम्म भए पनि नियन्त्रणमा सहयोग पुगेको छ ।’ आफूले कार्यालयमा सूर्तीजन्य पदार्थको सेवनमा निरन्तर निरुत्साहित गर्ने गरेको उनको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा इजाजतपत्र लिनुपर्ने प्रावधान बनाउनुपर्नेमा जोड दिए । ‘जसरी मदिराजन्य पदार्थ बेच्न लाइसेन्स अनिवार्य गरिएको छ, सूर्तीजन्य पदार्थ बेच्न पनि सोही प्रावधान ल्याउनुपर्छ’, उनले भने– ‘जहाँतहीँ असरल्ल पाइनाले पनि यसरको नियन्त्रण सकेको छैन ।” स्थानीय सरकारले सूर्तीजन्य पदार्थको नियन्त्रणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

अन्तरक्रियामा मन्त्रालयका कानून विभाग प्रमुख गोपीकृष्ण रेग्मीले नेपालमा सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) सम्बन्धी कानूनी व्यवस्थाका बारेमा जानकारी दिए । सूर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, जनस्वास्थ्य ऐन २०७५, सूर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८, सूर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) निर्देशिका २०७१ का बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।

कनकाई नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत खगेन्द्र दंगालले कनकाई नगरपालिकाले नगर क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको बताए । उनले पूर्णरुपमा नियन्त्रण गर्न कठिनाइ भए पनि केही हदसम्म नतिजा हासिल भएको उनले बताए ।

गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले लागुऔषध, सूर्तीजन्य पदार्थ, मादक पदार्थ नियन्त्रणका लागि गाउँपालिकाले अभियान नै सञ्चालन गरिरहेको बताए । सीमानाका जोडिएकाले नाकामै होल्डिङ सेन्टर बनाएर लागुऔषध नियन्त्रणको प्रयास भइरहेको उनले सुनाए ।

सूर्तीजन्य पदार्थ नियन्त्रणमा सञ्चार क्षेत्रको साथ सहयोग रहने पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले बताए । उनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि सरकारले बनाएका कानून कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका बरिष्ठ जनस्वाथ्य अधिकृत रविकान्त मिश्रले विश्व र नेपालमा सूर्तीजन्य पदार्थको सेवनको अवस्था र असरबारे सहभागीलाई जानकारी दिए । पछिल्लो अध्ययन अनुसार सूर्तीजन्य पदार्थ सेवन गर्ने दर बृद्धि भइरहेको बताउँदै उनले कोशी प्रदेशमा चारमध्ये एकजनाले सूर्तीजन्य पदार्थको प्रयोग गरिरहेको उल्लेख गरे । ‘उमेर बढ्दै जाँदा सूर्तीजन्य पदार्थको सेवन पनि बढ्दै गएको अध्ययनले देखाउँछ’, उनले भने– ‘यो नराम्रो हो, खानु हुँदैन भन्ने जान्दाजान्दै सेवन दर बढ्दो छ ।’

पछिल्लो अध्ययन अनुसार सूर्तीजन्य पदार्थमध्ये सबैभन्दा धेरै चुरोट ८७ प्रतिशत, बिँँडी २४ प्रतिशत, सिगार १६, हुक्का सात र अन्य चार प्रतिशत सेवन गर्ने गरेको पाइन्छ । सूर्तीजन्य पदार्थको कुलतमा फँसेका मानिसमध्ये अधिकांशले छोड्छु भन्ने गरेको र १९ प्रतिशतले छोड्ने कोसिस गरिरहेको बरिष्ठ जनस्वाथ्य अधिकृत मिश्रले बताए ।

मन्त्रालयका कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *