झापा । भारतसमेतका आँखाका रोगीहरुको भरपर्दो स्वास्थ्य प्रतिष्ठान मेची आँखा अस्पतालले रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का विषयमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गरेको छ ।
झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका विभिन्न अस्पतालमा सेवारत स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, एनेस्थेसिया चिकित्सकहरुसँग अन्तरक्रिया गरेको हो ।
समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्याको आँखा जाँच गरिएन र उपचार भएन भने उनीहरुमा अन्धोपन हुन्छ । तसर्थ, सचेतना अभिवृद्धिका लागि आँखा अस्पतालले सम्बन्धित चिकित्सकसँग आरओपीका विषयमा अन्तरक्रिया गरेको मेची आँखा अस्पताल संघका सचिव गणेश पोखरेलले जानकारी दिए ।
मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोतम जोशीका अनुसार आरओपी भएको बच्चाको जन्म भइसकेपछि प्रसूतीरोग विशेषज्ञ वा नवजात शिशु विशेषज्ञले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
विशेषज्ञ डाक्टरले यसरी जन्मिएको बच्चाको आँखा जाँच गराउन सल्लाह दिए समयमै उपचार हुन्छ । बालरोग र स्त्रीरोग र नेत्र चिकित्सकसँग जनचेतना अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गरिएको मेची आँखा अस्पतालका मोतियाबिन्दु तथा रेटिना विशेषज्ञ डा। विपिन बिस्टले बताए ।
आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा अध्यक्ष गुरुङले मेची आँखा अस्पताल गुणस्तरीय तथा प्रविधिमैत्री सेवामा सदैब लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।
डा. जोशीले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले गरेका थिए ।
कार्यक्रममा आरओपी के हो, यसको उपचार कसरी गर्ने लगायतका विषयमा डा. जोशी र डा. विपिनले सहजीकरण गरेका थिए । कार्यक्रममा ४० जना चिकित्सकको उपस्थिति थियो ।