झापा । झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले मातातीर्थ औँसीको अवसरमा भद्रपुरका पाँच सय भन्दा बढी ज्येष्ठ आमाहरूलाई सम्मान गरेको छ । हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेल, उनकी धर्मपत्नी गीताकुमारी पोखरेल र दाजु बालकुमार पोखरेलले भद्रपुर नगरपालिका–७ स्थित आफ्नै निवासमा बुधबार ज्येष्ठ आमाहरूलाई सम्मान गरेको हो ।
सौर्य एयरलाइन्सका अध्यक्ष समेत रहेका दीपकका परिवारले आमाहरूलाई साडी, नगदसहित मिष्ठान भोजन गराएर सम्मान गरेका थिए । मातातीर्थ औँसीमा विगत तीन वर्षदेखि माताहरूलाई सम्मान गर्दै आइरहेको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिने दीपक पोखरेलले बताए । आमाहरूको सम्मान नै आशीर्वाद भएको उनको भनाइ छ ।
भद्रपुरका १० वटै वडाका ६८ वर्षदेखि १०५ वर्षसम्मका ज्येष्ठ आमाहरूलाई सम्मान गरिएको हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले जानकारी दिए । उनले टाढा–टाढाबाट आउने ज्येष्ठ आमाहरूलाई सवारीसाधनमा ल्याएर पनि सम्मान गरिएको उनले बताए । सोही कार्यक्रमका बेला हस्पिटलले ज्ेष्ठ आमाहरुको स्वास्थ्य परीक्षणसमेत गरेको थियो ।