झापा । झापाको विर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि कृषकहरुलाई ६७५ वटा बाख्रा वितरण गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई त्यतिको संख्यामा बाख्रा वितरण गरेको हो । यस अवधिमा १९ वटा उन्नत बोयर जातको बीउ बोकासमेत वितरण गरिएको जनाइएको छ ।
नगरको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यस अवधिमा १५ वटा महिला कृषक समूहका २२५ जना सदस्यलाई बाख्रा वितरण गरिएको जानकारी दिइन् । नगरले बाख्रा दिएपछि खोर पनि निर्माण गरिदिने गरेको छ । आ. व. ०७४÷०७५ यता २२५ वटा खोर निर्माण गरिएको छ ।
नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट कार्यक्रमअन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो । यस कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गर्न एउटा महिला कृषक समुहमा १५ जना अनिवार्य छ । समूहका सबै सदस्यलाई तीन–तीन वटाका दरले बाख्रा वितरण हुन्छ । बाख्रा प्राप्त गरिसकेपछि अर्को वर्ष समूहका सबैले तीन–तीनवटाकै दरले बाख्रा नगरपालिकालाई बुझाउनु पर्छ । यसरी प्राप्त गरेको बाख्रा पुनः नगरपालिकाले बाख्रा माग गर्ने महिला कृषकहरुलाई वितरण गर्ने गरेको छ ।
नगरले बाख्रा वितरण गरेपछि खोर निर्माणसंगै विमा, खोप, सिजनको घाँस र औषधि–उपचारमा समेत सहयोग गर्दै आएको शाखा प्रमुख दाहालले बताइन् ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले कृषक महिलाहरुको आर्थिक जीवनस्तर उकास्न सघाउ पुर्याउने उदेश्यले वाख्रा वितरण गरिँदै आएको बताइन् । उनले बाख्रालाई राम्रो घाँस पानी गरेर मनग्य आम्दानी गर्न सकिने भन्दै मेहनत गर्न कृषक महिलाहरुलाई आग्रह गरिन् ।