चिम्टीका आगलागीपीडितका लागि झापाका चार युवाले बनाइदिए अस्थायी टहरा

झापा । सप्तरीको महादेवा गाउँपालिका –१ चिम्टीमा भएकोभीषण आगलागीबाट पीडित बनेकाहका लागि झापा विर्तामोडका युवाहरुले श्रम सहयोग गरेका छन् ।

आगलागीबाट घरसमेत सबै कुरा जलेर नष्ट भएपछि सडकमै पाल टाँगेर बस्न विवश बनेका पीडितहरुको घाउमा मल्हमपट्टि लगाउन त्यहाँ पुगेका झापाका चार युवाले आफैंले श्रम गरेर पीडितहरुका लागि अस्थायी टहरा बनाइदिएका छन् ।

झापा बिर्तामोडका शरद जोशी, विष्णु आचार्य, भीष्म घिमिरे र सौम्य शर्माले आगलागीपीडितका लागि अस्थायी टहराका साथै असथायी बालमैत्री सेल्टर र महिलामैत्री स्तनपान कक्ष निर्माण गरेका छन् । इङ्ल्याण्डको आरएसके सेल्टर नामक संस्थामार्फत आफूहरुले चिम्टीका आगलागीपीडितका लागि अस्थायी टहरा निर्माण गरेको आरएसके सेल्टर नेपालका टीम लिडर शरद जोशीले बताए । आरएसके प्रविधिबाट बनाइएका टहरा आपतकालीन अवस्थामा, छिटो बन्ने र फराकिलो तथा सुरक्षित हुने, आपतकालको बेला आरएसके इमर्जेन्सी १ घण्टामा तयार गर्न सकिने , ४ जनाको परिवार सजिलै बस्न मिल्ने र गुणस्तरीय हुने उनले बताए । इङ्ल्याण्डको आरएसके सेल्टरको संस्थापक सन हल्बेर्ट र आरएसके सेल्टरको नेपाल प्रमुख समिर नेपाल रहेको जोशीले बताए ।

आफूहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत आगलागीपीडित, भूकम्पपीडितहरुलाई सहयोग गर्दै आएको बताउँदै अर्का सहभागी विष्णु आचार्यले यस्तो कार्य गर्न पाउँदा आफूहरुलाई सन्तुष्टि प्राप्त हुने बताए । आरएसके सेल्टरले यसअघि जाँजरकोटको नलगाड र कुशे क्षेत्रका भूकम्पपीडितहरुका लागि ४० वटा अस्थायी टहरा निर्माण गरिदिएको उनले बताए ।

तीव्र गतिमा हावा चलेको बेला भएको भीषण आगलागीले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको चिम्टको एउटा गाउँ नै जलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *