झापा । झापाको भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत एकदिने च्याउ खेतीसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
वनले गरिबी निवारण तथा महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत समूहमा आबद्ध सदस्यलक्षित एक दिने च्याउ खेती तालिम सोमबार सम्पन्न गरेको हो ।
कार्यक्रम संयोजक रमेश न्यौपानेको अध्यक्षता तथा भद्रपुर– ९ की वडा सदस्य मञ्जु पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विज्ञान च्याउ उद्योगका सञ्चालक दुर्गाप्रसाद भट्टराईले तालिम दिएका थिए । तालिममा महिला सदस्यहरुको उल्लेख्य सहभागिता रहेको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।