झापाका लेखापढी कानून व्यवसायीहरुले सञ्चालन गरेको लेखापढी बचत तथा ऋण सहकारी संस्था भद्रपुरले आर्थिक वर्ष २०८०÷०९१ मा २३ लाख ६१ हजार २३८ रुपैयाँ नाफा गरेको छ ।
शुक्रबार जिल्ला समन्वय समिति झापाको सभाहलमा सम्पन्न १४ औं साधारणसभामा संस्थाका अध्यक्ष दलबहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो विवरण प्रस्तुत गरेका हुन् । प्रतिवेदन अनुसार आ. व. ०८०÷०८१ मा संस्थाले ४८ लाख ८१ हजार ३३६ आम्दानी गर्दा २२ लाख ५७ हजार ९२२ रुपैयाँ खर्च गरेको छ । यसबाट २६ लाख २३ हजार ४१३ रुपैयाँ नाफा गरेकोमा २ लाख ६२ हजार १७४ हजार रुपैयाँ करमा खर्च भएको अध्यक्ष थापाले जानकारी दिए ।
२७५ जना शेयर सदस्य रहेको संस्थाले ०८१ असार मसान्तसम्मा १ करोड एक लाख ६९ हजार शेयर पूँजी पुर्याएको छ भने २ करोड १५ लाख ९० हजार १२३ रुपैयाँ निक्षेप संकलन र २ करोड ९३ लाख ३७ हजार ८६७ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा आयोजित १४ औं साधारणसभाको उद्घाटन वचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)–का महासचिव घनश्याम अधिकारीले गरेका थिए ।
साधारणसभा समारोहमा प्रमुख अतिथि अधिकारीले दलको आवरणमा सहकारी ठग्नेहरू संरक्षित हुनु नहुने भन्दै कानूनी दायरा बढाएर सहकारीको रकम अपचलन गर्नेहरूलाई नियन्त्रण गर्न राज्य लाग्नुपर्ने बताए ।
सभामा संस्थाको उत्कृष्ट बचतकर्ता सम्मानबाट अलिम अख्तर तथा टिकाराम अधिकारी र उत्कृष्ट ऋण कारोबारी सम्मानबाट गणेश ढकाल र भुवन भण्डारी सम्मानित भएका थिए भने संस्थाको ज्येष्ठ सदस्य सम्मानबाट टिकाप्रसाद कोइराला सम्मानित भए ।
सचिव हेमराज खतिवडाले सञ्चालन गरेको कार्यक्रममा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन केन्द्रीय उपाध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष युवराज कार्की (पर्वत), नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन भद्रपुर इकार्इका पूर्व अध्यक्ष तथा सहकारीका पूर्व अध्यक्ष रमेश पोखरेल, नेपाल परिवार नियोजन संघ झापा शाखाका सभापति लोकनाथ भट्टराई, राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाका अध्यक्ष वशिष्ठ अधिकारीलगायतले मन्तव्य राख्दै सहकारीलाई सहकार्यको आधार बनाउनुपर्नेमा जोड दिएका थिए ।