रोहित काफ्ले
झापा । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ झापामा राष्ट्रिय कर दिवस मनाइएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरको आयोजनामा आज राष्ट्रिय कर दिवस मनाइएको हो ।
राष्ट्रिय कर दिवससँगै आजदेखि कर सप्ताह पनि सुरु भएको छ । आजदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन लागिएको हो ।
मूल्य अभिवृद्धि कर अर्थात् आधुनिक एवं वैज्ञानिक कर प्रणालीको सुरुवात भएको दिन विसं २०५४ मङ्सिर १ गते स्मरण गर्दै राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले देशको कर प्रणालीलाई सही र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि राजश्व प्रशासनको महत्त्वपूर्ण भूमिका हुने बताए । कार्यालयले ‘बिलिङ’लाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।
कार्यालयका निमित्त प्रमुख एवंम्कर अधिकृत डोरराज सुनुवारले कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, करसम्बन्धी जनचेतनामूलक कार्यक्रम, करदातालाई सम्मान गर्नेलगायत कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।
कर अधिकृत ज्ञानेन्द्रबहादुर राईले स्वागत तथा नायव सुब्बा सीतादेवी खतिवडाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा जिल्लास्थित विभिन्न उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा करदाता उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।
औचारिक कार्यक्रपछि बिभिन्न सन्देशमुलक नारा लेखिएको प्ले कार्डसहित प्रभातफेरी गरिएको थियो । र्यालीले चन्द्रगढी बजार परिक्रमा गरेको थियो ।
प्रभातफेरीमा झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, नेपाल अलैंची व्यवसायी महासंघ, विर्तामोड उद्योग वाणिज्य संघ, बुद्धशान्ति उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, एसोसियन अफ चाटर्ड एकाउन्टेन्ट्स, नेपाल उद्यमशील महिला संघसहित जिल्लाका विभिन्न सरोकारवाला निकायका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता थियो ।
कर सप्ताहका अवसरमा मंसिर २ गते करदाता शिक्षा, ३ गते आश्रममा फलफूल वितरण, ४ गते बुद्धशान्तिमा करदाता शिक्षा तथा अन्तरक्रिया, ५ गते बजार क्षेत्रको अवलोकनसहित करसम्बन्धी जनचेतना अभिबृद्धि तथा मंसिर ७ गते कार्यालय परिसरमा कर सप्ताह समापन गरिने कार्यालयका निमित्त प्रमुख डोरराज सुनवारले जानकारी दिए ।
उनले मंसिर ७ गते उत्कृष्ट करदाता तथा कर्मचारीलाई पुरस्कार तथा सम्मान–पत्र वितरण गर्दै कर सप्ताह समापन गरिने बताए । झापामा ४७ हजार करदाता रहेका छन् ।