यस्तो छ खेल तालिका भद्रपुर झापा गोल्डकपको

झापा । आगामी फागुन ७ गतेदेखि झापाको भद्रपुरस्थित मेची रंगशालामा हुने सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम् व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीको संयोजकत्वमा बसेको बैठकले लक्की ड्रमार्फत तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र दार्जीलिङ पुलिस फुटबल क्लब भारतबीच हुनेछ । दोस्रो खेल फागुन ८ गते झापा ११ एफसीविरुद्ध मछिन्द्र फुटबल क्लबले खेल्नेछ । तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछ । चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग चर्च ब्वाइज युनाइटेडले खेल्नेछ भने पाँचौँ खेल फागुन ११ गते न्यु रोड टिम (एनआरटी) विरुद्ध बंगलादेशको काउवार्न बाजार प्रगति संघले खेल्नेछ । यसैगरी, छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले भूटानको ट्रान्सपोर्ट युनाइटेड एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्डकपको फाइनल खेल फागुन १६ गते हुनेछ ।

प्रतियोगिताका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण भइसकेको छ ।

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *