झापा । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी छ ।
भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलहरु सकिँदा एथ्लेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथ्लेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ वटा पदकसहित अग्रस्थानमा रहेको एथ्लेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।
प्रतियोगितामा एथ्लेटिक्स विधाअन्तर्गत दौड, सटपुट, ज्याभलिन, लङजम्प र ट्रिपलजम्पका खेल समावेश छन् ।
एथ्लेटिक्सतर्फ मेचीनगर नगरपालिका र दमक नगरपालिकाले समान सात पदक प्राप्त गरेका छन् भने कमल गाउँपालिकाले ६ वटा पदक हासिल गरेको छ । त्यस्तै, शिवसताक्षीले ५, विर्तामोड र बाह्रदशीले समान ४–४, भद्रपुर र कनकाईले समान ३–३ तथा कचनकवल, गौरीगञ्ज, हल्दिबारी र झापा गाउाँपलिकाले समान २–२ पदक जितेका छन् । गौरादह नगरपालिका र बुद्धशान्ति गाउँपालिका एथ्लेटिक्समा पदकविहीन छन् । अब एथ्लेटिक्सको थोरै खेल मात्र बाँकी रहेको यादवले जानकारी दिए ।
प्रतियोगितामा भलिबल (छात्र÷छात्रा), कबड्डी (छात्र÷छात्रा), कराते (छात्र÷छात्रा), तेक्वान्दो (छात्र÷छात्रा) र उसु (छात्र÷छात्रा)–का खेलहरु पनि सञ्चालन भइरहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो ।
प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने र र सबै विधाको अन्तिम नतिजा आइतबार नै सार्वजनिक हुने झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की ‘दुर्वासा’ले जानकारी दिए ।