झापा । राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजदेखि झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
भद्रपुरस्थित मेची रंगशालामा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहका बीच कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरे ।
मन्त्री मण्डलले खेलकुदलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै खेल पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले योजना बनाउने उल्लेख गरे । उनले प्रतियोगिताको सबै विधाका खेलको छुट्टाछुट्टै शुभारम्भ गर्नुभएको थियो ।
उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले राष्ट्रपति रनिङ शिल्ड खेलकुदको पहिलो खुड्किलो भएको बताउँदै यसले खेलाडीहरुलाई अगाडि बढ्न सहयोग पुर्याउने बताए ।
समितिका सदस्य चेतामणि खनाल र कराते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा अध्यक्ष भण्डारीले सरकारका कुनै पनि निकायबाट हालसम्म बजेट विनियोजन नभए पनि निजी क्षेत्र र दाताहरुको सहयोगमा झापामा प्रतियोगिता सञ्चालन गरिएको बताउँदै प्रतियोगिताका लागि बजेट निकासा गरिदिन सरोकारवाला सकारी निकायलाई आग्रह गरेका छन् ।
प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका करिब दुई हजार खेलाडीले ६ वटा विधामा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता उद्घाटन समारोहमा सबै विद्यालयका खेलाडीहरुले मार्चपास गरेका थिए भने उसु खेलको प्रदर्शनी गरिएको थियो ।
प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
यस वर्ष राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स (छात्र÷छात्रा), भलिबल (छात्र÷छात्रा), कबड्डी (छात्र÷छात्रा), कराते (छात्र÷छात्रा), तेक्वान्दो (छात्र÷छात्रा) र उसु (छात्र÷छात्रा) खेल समावेश रहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।
पहिलो दिन सबै विधाका खेल सञ्चालन भए पनि एथलेटिक्स र करातेको कातातर्फको फाइनल चरणका खेल सम्पन्न भएको झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की ‘दुर्वासा’ले जानकारी दिए ।