नेपाल बाल संगठन झापाको सभापतिमा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ चयन भएका छन् ।
नेपाल बाल संगठन झापा जिल्ला तदर्थ समितिका सभापति श्रेष्ठकै अध्यक्षतामा आज सम्पन्न साधारणसभाले आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्ष पदमा उनलाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरी, सातजना सदस्य पदका लागि ११ जनाको उम्मेद्वारी परेकोमा तीनजनाले उम्मेद्वारी फिर्ता लिएपछि अजय साहेवाला, तीर्थराज ढकाल, उत्तम खनाल, खिलानाथ पाण्डे, रुद्र बजगाईं, उषा राजवंशी र आरोग्य तिम्सिना सदस्य पदमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

भद्रपुर ८ स्थित संगठनकै सभाहलमा सम्पन्न साधारणसभाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलज्ले उद्घाटन गरेका थिए ।
संगठनका सचिव सरोज ढकालले सञ्चालन र कोषाध्यक्ष तीर्थराज ढकालले स्वागत गरेको साधारणसभामा सभापति श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि नगरप्रमुख पोखरेल, वडाध्यक्ष गौरव सुब्बा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, निर्वाचन समितिका संयोजक दिपेन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभापति श्रेष्ठको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलसहित पारित भएको बताइएको छ ।
