झापा । झापाको अग्रणी सहकारी संंस्था विर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अन्तिम माइन्यूट प्रमाणीकरणसँगै १४ औं साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाले यस अवसरमा उत्कृष्ट सदस्य र सञ्चारकर्मीलाई सम्मान गरेको छ भने नवनिर्वाचित कार्यसमितिको सपथग्रहण सम्पन्न गरेको छ ।
बुधबार विर्तामोडको आदर्श बेङ्क्वेटमा आयोजित साधारणसभामा संस्थाले आर्थिक वर्ष ०८०÷०८१ का उत्कृष्ट शेयर सदस्य कमल पाण्डे, फूलमाया तामाङ, वीरबहादुर राई , पर्शुराम बस्नेत, अजय शाहलाई सम्मानसहित पुरस्कृत गरेको थियो ।
यस्तै, वर्ष उत्कृष्ट पत्रकारका रुपमा इजलास दैनिकका सम्पादक प्रदीप परियार र निष्कर्ष साप्ताहिकका सम्पादक विष्णु पौडेललाई नगद रु १०,०००। सहित सम्मान गरिएको थियो । उनीहरुलाई समारोहकी प्रमुख अतिथि विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
यस्तै, संस्थाले उत्कृष्ट सेवा केन्द्रको रुपमा धुलाबारी सेवाकेन्द्रलाई नगद १५ हजार र मधुमल्ला सेवा केन्द्र मोरङलाई उत्कृष्ट व्यवस्थापन तथा आन्तरिक सुशासन कायम गरेकोमा नगद १५ हजारसहित पुरस्कृत गरेको छ ।
सोही अवसरमा सिलाई बुनाईमा उत्कृष्ट शेयर सदस्य बब्ली खातुनलाई मेसिन प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाईंले वित्तीय क्षेत्रविरुद्ध अफवाह फैलाएर सहकारीहरुलाई कमजोर बनाउने प्रयास भइरहेको बताइन् । उनले ठीक ढंगले सञ्चालनमा रहेका संस्था अप्ठ्यारोमा नपरेको र नपर्ने बताइन् । सबै ऋणीले कर्जा बझाउनुपर्ने बताउँदै उनले ऋण मिनाहा हुन्छ भन्ने अफवाहको पछि नलाग्न सुझाव दिइन् । उनले सिम्रिक सहकारीले विपन्नको लागि सहयोग र आम सदस्यको क्षमता विकासमा योगदान गरिरहेकोमा धन्यवाद दिइन् ।
सिम्रिक साकोसले आ.व. २०७९÷०८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजस्व तिरेको जनाएको छ ।
खुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४.९५ प्रतिशतले वितरण गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
‘एक घर एक सदस्य अभियान, सिम्रिक सफलताको हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालित सिम्रिकले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थामा ६४ हजार २ सय ३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको जनाएको छ ।
यस्तै, संस्थाको नवनिर्वाचित समितिको सपथग्रण समेत सम्पन्न भएको छ । आगामी चार वर्षे कार्यकालका लागि गरिएको निर्वाचन कार्यक्रमबाट साविक सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति नै दोरिएको छ ।
निर्वाचन कार्यक्रममा कसैको दावी विरोध नभएपछि अध्यक्षमा पुनः सुवास भट्टराई चयन भएका छन् । तोकिएको समयावधि भित्र कुनै पनि दावी विरोध नआएपछि आगामी कार्यकालका निम्ति पुनः सोही समिति निर्वाचित भएको हो ।
समितिमा साविकका उपाध्यक्ष किरण कपुरी, सचिव इन्द्र बहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट नै पुनः निर्वाचित भएका हुन् । यसै गरी सदस्यमा पनि साविककै लीला मुखिया अधिकारी, शशिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविज जोगी नै पुनः निर्वाचित भएका हुन् ।
यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रमेश कुमार अधिकारी पुनः निर्वाचित भएका छन् । यस्तै सदस्यमा पनि साविककै मिनप्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएका छन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत अधिवक्ता पवन कार्कीले सपथ गराएका थिए । सपथपछि बोल्दै अध्यक्ष भट्टरार्इले सबै सदस्यको हितमा काम गर्दै संस्थालाई बलियो ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम संस्थाका कर्जा विभाग प्रमुख प्रेम बस्नेत (विजय)–ले सञ्चालन गरेका थिए ।