भद्रपुरमा हुने दुर्गा पूजा तयारी बारे छलफल

भद्रपुर । नेपालीहरुको महान चाड बडादशैं नजिकिँदै गर्दा झापाको भद्रपुरमा परम्परागत रुपमा गरिँदै आएको दुर्गा पूजाको तयारी बारे आज छलफल गरिएको छ ।

भद्रपुर–६, मुख्य बजारस्थित दुर्गा मन्दिरमा दशैंमा गरिने सार्वजनिक पूजाको तयारीका सन्दर्भमा भद्रपुर नगरपालिकाको सभाहलमा सरोकारवालाबीच छलफल गरिएको हो ।

सार्वजनिक दुर्गा पूजा समितिका कार्यवाहक अध्यक्ष अजय साहेवालाको अध्यक्षता एवम् भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी बन्ध्रुप्रसाद वाँस्तोलालगायत जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुखहरु, सरकारी निकायका प्रमुखहरु, भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरु, धार्मिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

समितिका सचिव राजेन्द्र चापागाईंले सञ्चालन गरेको कार्यक्रममा परम्परागत रुपमा दशकौँदेखि भद्रपुरस्थित दुर्गा मन्दिरमा गरिँदै आएको पूजालाई यस वर्ष अझ भव्य, परिस्कृत कसरी बनाउन सकिन्छ ? भन्ने बारेमा छलफल भएको थियो । घटस्थापनादेखि विजयादशमीसम्म तिथि अनुसार गरिने पूजा विधिका बारेमा जानकारी गराइएको छलफलमा प्रजिअ बाँस्तोलाले पूजा अवधिभर सुरक्षाका लागि सुरक्षा निकायका सबै अंगलाई खटाइने जानकारी दिए ।

नगरप्रमुख पोखरेलले भद्रपुरमा गरिने दुर्गापूजा हरेक वर्ष विशेष रहँदै आएको उल्लेख गर्दै यस वर्ष पूजालाई अझ भव्य बनाउने गरी जुट्न सबैसँग आग्रह गरे । समितिका कार्यवाहक अध्यक्ष साहेवालाले मन्दिर परिसरमा सरसफाइका काम सुरु गरिएको जनाउँदै भक्तजनलाई सहज ढंगले पुजाआजा गर्ने वातावरण मिलाइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *