झापा । झापाको विर्तामोड–१ मा रहेको जिल्लाकै पहिलो बाल अस्पताल ‘विर्तामोड चिल्ड्रेन हस्पिटल’ ले तेस्रो स्थापना दिवस मनाएको छ ।आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो । बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो ।
१ भेन्टिलेटर, ४ एनआर्इसीयु, ५ पिआर्इसीयु र ५ नर्मल बेडसहित १५ वटा शैय्यासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डा. रुपक आचार्यले बताए । ‘बालबालिकाको उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता पहिल्यैदेखि महसुस भएको थियो’, कार्यक्रममा उनले भने, ‘अस्पताल स्थापना भएपछिको हामीसँग भएको तथ्याङ्कले बाल अस्पताल कति आवश्यक छ भन्ने कुरालाई स्पष्ट पार्छ ।’
बितेको एक वर्षमा २ हजार ७५१ बालबालिकाले ओपिडी सेवा, १ हजार ७४ ले इमरजेन्सी सेवा र २ हजार १७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको डा. आचार्यले जानकारी दिए । तीमध्ये एकजनालाई जटिल समस्याका कारण बचाउन नसकिएको र बाँकी ९९.९ प्रतिशत बालबालिकाले स्वास्थ्य लाभ लिएको उनको भनाइ छ ।
बालबालिकाहरुमा खासगरी मेनेन्जाइटिस, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौलालगायतका जटिल रोग देखिने गरेको अस्पतालले जनाएको छ ।
शल्यक्रियाबाहेकका सबै सेवा प्रदान गर्दै आएको अस्पतालले मुटुमा समस्या भएका बालबालिकाका लागि प्रत्येक बिहीबार विशेषज्ञ सेवाको व्यवस्था गरिएको डा. आचार्यले जानकारी गराए ।
अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डक्टर सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको अध्यक्षता लीला मैनालीले गरेकी थिइन् ।
अध्यक्ष मैनालीले आफूहरुले पूर्ण रुपमा सेवाभावले अस्पताल सञ्चालन गरेको बताउँदै सञ्चारमाध्यमहरुको साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड १ नमुना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अस्पतालका सुपर भाइजर राजेन्द्र मैनाली, संस्थापक दिपक प्रसाद आचार्य, प्रेमा आचार्यको समेत उपस्थिति रहेको थियो ।